सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधिस अब्दुल अजीज मुसलमानको एकल इजलासले नयाँ अध्यक्ष छनौट प्रकृया नरोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।
अध्यक्षका लागि सर्टलिस्टमा परेका ५ जनामध्ये ३ जना अन्तर्वार्तामा अनुपस्थित भएको भन्दै सिफारिस समितिले गत शुक्रबार प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयविरुद्ध सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठले प्रक्रिया रद्द गर्ने कानुनी व्यवस्था नरहेको भन्दै सिफारिस समितिको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दायर गरेका थिए ।
प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाइएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा सुनुवाइ भएको थियो ।
साथै अदालतले असार २१ गतेका लागि दुवै पक्षसँग छलफलका लागि बोलाएको छ ।
सरकारले सोमबार मात्रै धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि पुरानै सदस्य राखेर फेरि सिफारिस समिति गठन गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुरानै सदस्यसहितको नयाँ समिति गठन गरेको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन्।
सरकारले यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि माघ ४ गते श्रेष्ठको नेतृत्वमा सिफारिस समिति गठन गरेको थियो । २०८० पुस २१ मा तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्ष रिक्त रहेको थियो।
सरकारले गत फागुन १६ गते बोर्ड अध्यक्षका लागि आवेदन माग गरेको थियो । सोही मागको आधारमा फागुन ३० सम्ममा १९ जना आवेदकहरूले धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएका थिए ।
समितिले कार्यविधिअनुसार चैत २५ गते परेका आवेदनमध्ये कृष्णबहादुर कार्की, नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईं गरी पाँच जनालाई ‘सर्ट लिस्ट’मा छानेको थियो । समितिले सर्ट लिस्टमा परेकाहरुलाई अन्तर्वार्ता र कार्य योजना प्रस्तुतीकरणको लागि बोलाएकोमा कार्की, अधिकारी र चापागाइ भने २ पटकसम्म बोलाउँदा पनि सहभागी भएनन् । कानुनबमोजिम समितिले तीन जनाको नाम सिफारिस गर्न नसकेपछि गत शुक्रबार अध्यक्ष छनोट प्रक्रिया रद्द गरिएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया