एक महिनामै २० करोड हरित कर संकलन


सरकारले एक महिनामा नै २० करोड रुपैयाँ हरित कर संकलन गरेको छ । नेपाल आयल निगमले एक महिना अवधिमा २० करोड रुपैयाँ हरित कर संकलन गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत् हरित करको व्यवस्था गरिएको थियो । बजेट मार्फत पहिलो पटक पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको हो ।

उक्त व्यवस्थाअनुसार पेट्रोल र डिजेलमा समान प्रतिलिटर १–१ रूपैयाँ कर लगाइएकोमा सोही दिनदेखि निगमले कर उठाउन सुरु गरेको थियो । उक्त शीर्षकबाट २० करोड संकलन भएको आयल निगमले जनाएको छ ।

बजेटमार्फत् कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको थियो । जसअनुसार कोइला र कोइलाबाट उत्पादित वस्तु, कोक र विभिन्न तेलहरूमा ५०–५० पैसा तथा डिजेल र पेट्रोलमा १–१ रुपैयाँ हरित कर लाग्दै आएको छ । यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा १ प्रतिशत हरित कर लाग्ने छ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि १ प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ ।

हरित करबापत वार्षिक रूपमा २ अर्ब ४० करोड रुपैयाँ सङ्कलन हुने निगमले जनाएको छ । निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट कर सङ्कलन गर्दै आएको छ । पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ हरित कर लगाउने घोषणा गरिएको थियो । यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई अतिरिक्त भार पर्ने छ ।इन्धनमा लगाएको करले गर्दा उपभोक्तालाई इन्धन खरिद महिङ्गएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार ११ महिनामा सबैभन्दा धेरै २ खर्ब ६२ अर्ब ६२ करोड ७० लाख रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात भएको छ । जसमा १ खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ । यस्तै ६२ अर्ब ८७ करोड ७३ लााख ३५ हजार रुपैयाँको पेट्रोल र ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०८१, बुधबार ११ : ३२ बजे