ब्यापार र फाइनान्स उपसमुह चम्कियो, कम पुँजी भएका कम्पनीमा आकर्षण

0
Shares

साताको चौंथो कारोबार दिन बुधबार एक घण्टाको कारोबारमा ब्यापार र फाइनान्स उपसमुहगत सूचकमा उत्साहजनक बढोत्तरी आएको छ । प्रचण्ड नेतृत्वको सरकारबाट अलग भएर नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साथ रोज्ने निर्णयपछि मंगलबार नेप्सेमा दुई ओटा सकारात्मक सर्किट लागेर अन्त्यमा ४७.०४ अंकको बढोत्तरीमा बजार बन्द भएको थियो ।

बुधबार भने धितोपत्र बजारमा करेक्शन आएको छ । यसदिन एक घण्टा अवधिमा नेप्से १६.५४ अंकले घटेर २०८३ बिन्दुमा झरेको छ । ब्यापार र फाइनान्स बाहेक सबै उपसमुहगत सूचक घटेका छन् । ब्यापार ४ र फाइनान्स ३ प्रतिशतभन्दा धेरैले बढेको हो । बजारमा कम पुँजी भएका लो क्याप कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

यस अवधिमा ईसिएफसी फाइनान्सको पाैने ६ करोडको सेयर कारोबार भएको छ। सेयर मूल्य बढ्ने शीर्ष कम्पनीमा ९ प्रतिशतभन्दा धेरै बढोत्तरी सहित आईसिएफसी फाइनान्स रहेको छ । सेन्ट्रल फाइनान्स, उपकार लघुवित्त, गुहेश्वरी मर्चेन्ट, साल्ट ट्रेडिङ्ग कर्पोरेसनको मूल्य ४ प्रतिशतभन्दा अधिक बढेको छ ।एक घण्टामा २६९ कम्पनीका २२ लाख ६६ हजार कित्ता सेयर करिब ९२ करोड रुपैयाँमा खरिद बिक्री भएको छ ।

उता एक घण्टा अवधिमा दोर्दीखोला जलविद्युत, सामलिङ्ग पावर, माण्डू हाइड्रोपावर, समाज लघुवित्त र भगवती हाइड्रोपावरको ३ प्रतिशतभन्दा बढीले सेयरमूल्य घटेको छ । कारोबारका हिसाबले यस अवधिमा सेन्ट्रल फाइनानस, आईसिएफसी फाइनान्स, हिमालयन डिष्टिलरी, गुडविल फाइनान्स र साल्ट ट्रेडिङ्ग कर्पोरेसन गरी पाँच ओटा स्क्रिप्ट अधिक सक्रिय रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।