सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले दुग्ध किसानलाई समयमै दुधको भुक्तानी गर्न नसकेको भन्दै क्षमायाचना गरेको छ । संस्थानले एक विज्ञप्ती जारी गर्दै गत वर्ष बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा दुधलाई व्यवस्था गर्दा भुक्तानीमा ढिलाई भएको जनाएको हो ।
‘गत वर्ष बजार मागभन्दा धेरै गुणा बढी संकलित कच्चा पदार्थ व्यवस्थापन गर्दा संस्थानमा हाल एक अर्ब ५० करोड रुपैयाँ बराबरको धुलो दूध र मक्खन मौज्दात रहेको, दुग्ध पदार्थ भण्डारण गर्दा संस्थानको खर्च बढिरहेको कारण किसानलाई गर्नुपर्ने भुक्तानीमा धेरै ढिलो भई कृषक परिवारमा परेको असहजताप्रति संथान क्षमाप्रार्थी छ ।’ संस्थानले भनेको छ, ‘ नेपाल सरकारबाट ऋण, मौज्दात दुग्ध पदार्थको बिक्रीबाट कृषको भुक्तानी सहज गरिने र उत्पादन उच्च हुने आगामी सिजनको दूधलाई समेत सधैँ झै व्यवस्थित गरिने प्रतिबद्धता गर्दछौं। ’
दुधलाई निश्चित अवधिमा खपत गरिसक्नुपर्ने अन्यथा धुलो दुध र मक्खनमा रुपान्तर गरी मौज्दात राख्नु परेकोले नगद चक्रमा ठूलो असर परी कृषक भुक्तानी ढिलो हुन गएको संस्थानको प्रष्टिकरण छ । साथै संस्थानले अन्तर्राष्ट्रिय बजारको खोजी गरेर भुक्तानी र माग वृद्धिबाट दीर्घकालीन समाधान गरिने संस्थाले जनाएको छ ।
त्यसैगरी संस्थालने बजार खपत बढाई कृषको भुक्तानी नियम बनाउन दुग्धजन्य पदार्थमा छुटसमेत दिएको जनाएको छ । संस्थानका अनुसार धुलो दूध प्रतिकेजी ६०० र मक्खन प्रतिकेजी ८०० रुपैयाँ (करसहित) निर्धारण गरेको छ । संस्थानका दैनिक उपभोग्य उत्पादन दूध, दही, चिज, आइसक्रिम, पनिर आदिको खपत बढाइदिन संस्थानले व्यापारी तथा उद्योगीलाई आग्रह समेत गरेको छ ।

डिडिसीले नेपाली कृषकहरूबाट उत्पादित दुधलाई संस्थागत खरिद एवम् दुग्ध क्षेत्रको विकासको लागि संस्थानको पाँच दशक बढीको अहम् भूमिका खेल्दै आएको छ। निरन्तर सेवाबाट दुग्ध क्षेत्र विशाल अवस्थामा आइपुगेर राष्ट्रिय अर्थतन्त्रकै मेरुदण्डको रुपमा रहिआएको संस्थाले जनाएको छ । दुग्ध पेशाले परिवारभित्र रोजगारी, पोषण र खाद्य सुरक्षाको साथै दैनिक खर्चको जोहो, आयआर्जन र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन ठूलो भूमिका खेलेको छ ।
संस्थानले छरिएर रहेको कच्चा दुधलाई एकत्रित गर्दै कारखानामा प्रशोधन पश्चात उपभोक्तासम्म आपूर्तिको व्यवस्था मिलाएको छ । दुध सङ्कलनको करिव ८० प्रतिशत निर्वाहमुखी ससाना कृषकहरूबाट हुने भएकोले दुध भुक्तानीले ग्रामीण जीवनमा ठूलो प्रभाव पार्ने र दुध उत्पादनमा हुने उतारचढावलाई व्यवस्थित गर्न नसक्दा पेसामा प्रतिकूल प्रभाव परी पशुपालन व्यवसाय नै चूनौतिपूर्ण बन्नसक्ने संस्थानको निष्कर्ष छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
