सत्ता उलट-पलट नजिकिएपछि नेप्से २२ सय बिन्दु नजिक, पौने ६ अर्बको धितोपत्र किनबेच

0
Shares

धितोपत्र बजारमा बुधबार पनि वृद्धि भएको छ । सत्ता समीकरण बदलिएर नेकपा एमाले—कांग्रेसको नयाँ गठबन्धनमा सरकार बन्ने भएसँगै मंगलबार दोहोरो अंकले बढेको बजारमा बुधबार पनि थप वृद्धि भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते शुक्रबार संसदमा विश्वासको मतको सामना गर्दैछन् । हालको एमाले—कांग्रेसको नयाँ गठबन्धनमा प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था छैन । सोही कारण राजनैतिक असर धितोपत्र बजारमा परेको हो ।

सेयर बजारका लगानीकर्तामा नयाँ सत्ता समीकरणले उत्साहको माहोल सिर्जना गरेको समयमा अर्कोतर्फ नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले समेत लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेका छन् । मौद्रिक नीतिमा सुझाव दिने उदेश्यले मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा उनले अर्थतन्त्र र व्यवसायी बचाउने गरी नीति ल्याउने बताएका थिए । सोहि कारण पनि पुँजी बजारका लगानीकर्ता खुसी छन् ।

साथै अर्थतन्त्र सुधारेन्मुख रहेको, ब्याजदर घट्दै गएको र चालु आर्थिक वर्षको अन्त्य हुनै लागेकाले केही महिनापछि नै सूचीकृत कम्पनीको लाभांश घोषणा समेत सुरु हुने भएकाले अहिलेको समय सेयर बजारका लगानीकर्ताले लगानीको अवसरको रुपमा हेर्न थालेका हुन् । नयाँ सत्ता समीकरणपछि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्यव बढ्ने आशले सेयर बजारका लगानीकर्ता उत्साहित समेत छन् ।

सेयर बजार परिसूचक मापक नेप्से २२ सय बिन्दु नजिक पुगेको छ । बुधबार नेप्से १.०८ प्रतिशत अर्थात २३.२५ अंकले बढेर २१७५.४० बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.२६ अंक, फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३३ अंक बढेको छ ।

नेप्सेसँगै बुधबार कारोबार रकम पनि २० करोड ८२ लाख रुपैयाँले बढेर ६ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँ पुगेको छ । यसदिन ३२२ स्टकको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ७२ हजार ७१४ ओटा संख्यामा कारोबार भएको हो । अघिल्लो कारोबार दिन मंगलबार ५ अर्ब ५३ करोड ५८ लाखको सेयर खरिद बिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहगत परिसूचकमध्ये विकास बैंक बाहेक सबै १२ ओटै बढेको छ । यस दिन विकास बै.क ०.२९ प्रतिशतले घटेको हो भने वाणिज्य बैंक सबैभन्दा धेरै १.६९ प्रतिशतले बढेको छ। लघुवित्त १.५४ प्रतिशत, निर्जीवन बीम १.२९ प्रतिशत, फाइनान्स १.१५ प्रतिशत र जलविद्युत उपसमूहगत सूचक१.०७ प्रतिशतले बढेको हो ।

कारोबार रकमका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको सबैभन्दा धेरै १५ करोड ८ लाख ९९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जानकी फाइनान्सको १४ करोड ८२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ११ करोड ३९ लाख, सिईडिबी हाइड्रोपावरको ९ करोड १४ लाख र ङादी ग्रुप पावरको ८ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट,बुद्धभुमि हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए

आज १०.२५% एसबिएल डिबेञ्चर २०८३ र बलेफी हाइड्रोपावरको सेयर मूल्य आज १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । १०.२५% एसबिएल डिबेञ्चर २०८३को मूल्य ११३ रुपैयाँले बढेर १२४३ रुपैयाँ पुगेको छ भने बलेफी हाइड्रोपावरको प्रतिकित्ता ३४.८० रुपैयाँले बढेर ३८३.२० रुपैयाँ पुगेको छ । ११% केबिएल डिबेञ्चर २०८९ को ८.६६ प्रतिशत, सिक्लेस हाइड्रोपावर ८.३२ प्रतिशत र एनआईसी एशिया लघुवित्तको ७.८१ प्रतिशतले बढेको छ ।

यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेर ६६७.८० रुपैयाँमा झरेको छ । समाज लघुवित्तको ९.८८ प्रतिशतले घटेर ३०७३ रुपैयाँमा झरेको छ । यस्तै सिटिजन सुपर ३० म्युचुअल फन्डको ५.१६ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.२८ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को इकाई मूल्य ३.२४ प्रतिशतले घटेको छ ।

कारोबार कित्ताका आधारमा आज लक्ष्मी उन्नति कोषको १० लाख ७ हजार ३५० कित्ता इकाई कारोबार भएको छ । कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १ हजार ७९४ ओटा कारोबार भयो ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण ३४ खर्ब ५० अर्ब ५७ करोड १ लाख रुपैयाँमा समेटिएको छ । मंगलबार कुल बजार पुँजीकरण ३४ खर्ब १३ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।