‘प्रोफिट बुक’ ले नेप्सेमा करेक्सन आएपनि कारोबारमा सुधार

0
Shares

पछिल्ला ४ कारोबार दिनदेखि निरन्तर उकालो लागेको नेप्से साताको दोस्रो कारोबार दिन घटेर बन्द भएको छ। 

पछिल्लो ४ कारोबार दिनमा नेप्से परिसूचक १२१.२२ अंक बढेको थियो। नेप्से बढेको मौकामा अल्पकालिन लगानीकर्ताहरुले ‘प्रोफिट बुक’ गरेका कारण यस दिन नेप्सेमा करेक्सन भएको हो।

सोमबार नेप्से परिसूचक १७.१८ अंक घटेर २२४०.४१ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको १ लाख २ हजार ३७२ पटकको कारोबारमा ८ अर्ब ७३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिनको कारोबार रकम पछिल्लो ६ महिनायताकै उच्च हो। यस अघि गत माघ ३ गते ९ अर्ब ७६ करोडको शेयर खरिदबिक्री भएको थियो।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक १.७० प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन सिभिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन माण्डु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य करिब १० प्रतिशत बढेको छ। यस दिन जानकी फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३७ करोड ८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकको करिब २२ करोडको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १९ करोड नाघेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।