नेप्से ३ प्रतिशतले बढेपछि २५६३ बिन्दुमा, १४ अर्बमाथि कारोबार

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से मंगलबार ३.०२ प्रतिशत अर्थात ७५.३३ अंकले बढेपछि सूचक २५६३.४३ बिन्दुमा पुगेको छ । मंगलबार सहित बजार लगातार ६ कारोबार दिनमा सूचक ३२२.९९ अंकले बढेको हो ।

नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनलाई लगानीकर्ताले विश्वास गर्दा सेयर बजार नयाँ सरकार बन्ने सम्झौता (गत असार १७ गते) गठनयता मात्रै ५१०.०५ अंकले बढेको हो । असार १६ गते २०५३.३८ अंकमा रहेको नेप्से साउन ८ गते मंगलबार आइपुग्दा २५६३.४३ बिन्दुमा पुगेको हो ।

बजारमा उत्साह कायमै रहँदा आज पनि सेयर बजारमा १४ अर्बमाथि कारोबार भएको छ। यसदिन ३१७ कम्पनीका ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर १ लाख ७१ हजार ३८७ पटक कारोबार हुँदा दैनिक कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँमा समेटिएको छ ।

आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

मंगलबार आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसदिन बोटलर्स नेपाल लिमिटेड, समृद्धि फाइनान्स, माण्डू हाइड्रोपावर, हाथवे फाइनान्स, नेपाल वेयर हाउजिङ्ग, साहस उर्जा लिमिटेड, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ र हिमालय उर्जा विकास कम्पनीको सेयर मूल्य दश प्रतिशतले बढेको हो । यस्तै युनिभर्सल पावर कम्पनीको ९.८३ प्रतिशत र पिपुल्स हाइड्रोपावर कम्पनीको ८.७२ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ८.५९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको ८.३० प्रतिशतले भाउ बढेको छ ।

आजको बजारबाट गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.८३ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको मूल्य १९३५.३० रुपैयाँमा झरेको छ । यसैगरी १०.२५% माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५ को मूल्य ३.९५ प्रतिशत, ८.५% माछापुच्छ्रे बैंक डिबेञ्चर २०८७ को ३.६९ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको र मन्दाकिनी हाइड्रोपावरको समान ३.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर कारोबार

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स सबैभन्दा शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको २४ करोड ६९ लाख २३ हजार रुपैयाँ बराबरको ४ लाख २३ हजार ४९० कित्ता सेयर खरिद बिक्री भएको हो । यस्तै दोस्रो ठूलो कारोबार अपि पावरको २४ करोड २६ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड २ लाख रुपैयाँ, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २१ करोड ५६ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २० करोड १९ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भयो ।

आजको कारोबारपछि कुल बजार पुँजीकरण ४० खर्ब ६७ अर्ब ४२ करोड १५ लाख १७ हजार रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा बजार पुँजीकरण १ खर्ब १९ अर्ब ५३ करोड ८२ लाख रुपैयाँले बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।