किसानलाई सहज हुनेगरी सिँचाइका आयोजना अगाडि बढाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

किसानलाई सहज हुनेगरी सिँचाइका आयोजना अगाडि बढाउनुपर्नेमा ऊर्जामन्त्रीको जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किसानलाई सहज हुनेगरी सिँचाइका आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

नवीनतम यान्त्रिक सिँचाइ आयोजनासँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री खड्काले नयाँ आयोजना निर्माण गर्दा किसानलाई कसरी सहुलियत प्रदान गर्न सकिन्छ त्यसबारे सोच्नुपर्ने बताए।

'छिमेकी मुलुकले कसरी किसानलाई सिँचाइमा सहुलियत प्रदान गरेका छन्, त्यसलाई अध्ययन गरेर नयाँ आयोजनालाई अगाडि बढाउनुपर्छु, उनले भने। मन्त्री खड्काले आयोजना अगाडि बढाउन आवश्यक पर्ने लागतका बारेमा अर्थ मन्त्रालयसँग छलफल गर्ने प्रतिबद्धता जनाए।

सुरुमा सर्लाही र रौतहट जिल्लाको १६ स्थानीय तहका २२ हजार चार सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको आयोजनाका प्रमुख अजयराज अधिकारीले जानकारी दिए।

‘डिप ट्युबेल’ र ‘प्रिपेड कार्ड’मार्फत किसानको खेतमा सिँचाइ सुविधा लैजाने उद्देश्यले आयोजनालाई अगाडि बढाइएको जनाउँदै उक्त आयोजना चार वर्षभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको उनले बताए।

आयोजना सम्पन्न भएमा किसानले सिँचाइका लागि एक हजार लिटर पानी तीन रूपैयाँमामा उपभोग गर्न पाउनेछन्। आयोजनाका लागि ७८ प्रतिशत एसियाली विकास बैंक र २२ प्रतिशत नेपाल सरकारले लगानी रहेको छ। रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १४ साउन २०८१, सोमबार १३ : ४२ बजे