भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्धारा बाढी पीडितलाई एक करोड सहयोग


भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गर्न लागेको जनाएका छन् ।

गत साताको अन्तिम दुइ दिनसम्मको अविरल वर्षामा हजारौँ नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको उनले बताए । “अहिले बाढी पीडितका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोगको घोषणा गरेको छु,” उनले भने ।

भाटभटेनीका प्रमूख सञ्चालन अधिकृते पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए । बिहीबारदेखि परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।

अर्बौँ रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा. भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका छन् । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि गुरुङले एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।

कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए । त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका थिए । ११ करोड लागतमा इर्मर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन निर्माणका लागि १५ करोड लागतमा तयार पारिदिएका हुन् ।

गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।

रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जना डाक्टर बने र धेरैले स्थानीय तहमै जनताको सेवा गरेर बसेका छन् । उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोरेको थियो र उनीहरू सो बापत् केवल स्थानीय तहमा जनताको सेवा गर्ने प्रतिबद्धता दिएका थिए ।