मातृभूमिका अध्यक्ष शर्माको गतिविधि राष्ट्र बैंकको ‘क्लोज सुपरभिजन’मा

दोहोरो नियुक्ति खाइरहेका शर्माद्वारा लघुवित्तमा हालीमुहाली


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मातृभूमि लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिलाई ‘क्लोज सुपरभिजन’ मा राखेको छ ।

संस्थाका अध्यक्ष लोकराज शर्माले आफू अनुकुलका कामकारबाही गर्न थालेपछि केन्द्रीय बैंकले लघुवित्तमा निगरानी बढाएको हो ।

मातृभूमिका अध्यक्ष शर्माले नियामकीय प्रावधानविपरीत दोहोरो नियुक्ति खाइरहेको अवस्थामा सञ्चालक समितिका सदस्यहरू फेरबदल गर्ने, सञ्चालक समितिमा आफूअनुकूल व्यक्तिहरूको संख्या बढाउने अभियान चलाएसँगै राष्ट्र बैंकले निगरानी बढाएको हो ।

शर्माले मर्जरपछि बन्ने सञ्चालक समितिमा फेरि अध्यक्ष पदमा आफैँलाई अघि सारेसँगै नियामकीय प्रावधान पूरा गराउन लघुवित्तको सञ्चालक समितिलाई नजिकबाट निगरानी बढाइएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

शर्माले आफू अनुकूल बनिदिन र आगामी साधारणसभामार्फत् फेरि आफैँलाई अध्यक्ष बनाउन भन्दै अन्य सञ्चालकहरूलाई दबाब दिँदै आएका छन् ।

यसै सन्दर्भमा गत भदौ पहिलो साता शर्माले कम्पनीको सञ्चालकमा नियुक्त भएका खडानन्द सापकोटालाई शपथ नलिएको भन्दै पदमुक्त गरी सेयरधनी नरहेका व्यक्तिलाई विज्ञ सञ्चालक नियुक्त गर्ने निर्णय गराएका छन् ।

जसको सूचना अहिलेसम्म सार्वजनिक भएको छैन । संस्थापक सञ्चालकलाई हटाएर विज्ञ सञ्चालक नियुक्त गर्नु नियामकीय व्यवस्थाविपरीत रहेको सापकोटाको दाबी छ ।

उनले आफूलाई पदमुक्त गर्ने सम्बन्धमा राष्ट्र बैंकले गरेको निर्णय सार्वजनिक नभएको र आफूले पनि जानकारी नपाएको बताए ।

‘मलाई सञ्चालक नियुक्त गरेको जानकारी राष्ट्र बैंकलाई छ । तर, पदमुक्त गरेको सम्बन्धमा राष्ट्र बैंकको स्वीकृति आएको थाहा छैन,’ उनले भने ।

नेपाल बाहिर रहेका सापकोटालाई शर्माले साउन २४ गते पत्र काट्दै ७ दिनभित्र शपथ लिन बोलाएका थिए । सापकोटाले आफू नेपाल बाहिर रहेको अवस्थामा भर्चुअल माध्यमबाट शपथका लागि आग्रह गरे पनि शर्माले बेवास्ता गरी एकलौटी रूपमा सम्पर्कविहीन भएको आधार खडा गरेको उनको आरोप छ ।

लघुवित्त सञ्चालक समितिको १४४औँ बैठकमा माइन्युट नै नगराई शर्माले एकलौटी रूपमा ७ दिनभित्र शपथ लिन भन्दै स्पष्टीकरण सोधेको सापकोटाको आरोप छ । साथै एक जना सञ्चालकले अर्को सञ्चालकलाई स्पष्टीकरण सोध्न नसक्ने अवस्थामा सञ्चालक समितिको बैठकमा विषय नै प्रवेश नगराई पत्रमार्फत् स्पष्टीकरण साधेर अध्यक्ष शर्माले कानुनी प्रक्रिया उल्लंघन गरेको उनको आरोप छ ।

तत्कालीन किसान लघुवित्तको अध्यक्ष भएका बेला नै लोकराज शर्माले राष्ट्र बैंकको प्रावधानविपरीत नेपाल पेमेन्ट सोलुसनको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

शर्माको दोहोरो नियुक्तिको विषयलाई लिएर विवाद चर्किएपछि सोही समयमा राष्ट्र बैंकले लघुवित्तलाई स्पष्टीकरण सोधेको थियो । त्यसैबेला तत्कालीन जालपा सामुदायिक लघुवित्तसँग मर्जर सम्झौता गरी शर्माले मर्जर पूरा हुने समयसम्म लघुवित्तको अध्यक्ष पद कायम राखिदिन राष्ट्र बैंकसँग आग्रह गरेका थिए ।

फेरि उनले मर्जरपछि बनेको मातृभूमि लघुवित्तको आगामी साधारणसभासम्म अध्यक्ष पद थमाइदिनका लागि गरेको आग्रहअनुसार उनको अध्यक्ष पदलाई निरन्तरता दिँदै लघुवित्तका क्रियाकलापलाई निगरानीमा राखिएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

साथै, राष्ट्र बैंकले लघुवित्तको आगामी साधारणसभापछि लोकराज शर्मालाई कुनै पनि अवस्थामा दोहोरो जिम्मेवारीमा बस्न नदिने पनि प्रष्ट पारेको छ ।

नेपाल पेमेन्ट सोलुसनमा लोकराज शर्मा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका शंकरप्रसाद आचार्य प्रमुख कार्यकारी अधिकृत बनेका थिए ।

२ वर्षअघि आचार्य नेपाल राष्ट्र बैंकको सञ्चालक नियुक्त हुने भएपछि नेपाल पेमेन्टको प्रमुख कार्यकारीबाट बाहिरिएका थिए । सोपश्चात् लोकराज शर्मा नेपाल पेमेन्टको प्रमुख कार्यकारीको जिम्मेवारीमा छन् भने आचार्य नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्य छन् ।

स्मरणीय छ, शर्माको दोहोरो नियुक्तिबारे नोटबजारले समाचार प्रकाशन गरेपछि सूचना चुहाएको भन्दै उनले बैठक नै राखेर अन्य सञ्चालक र कर्मचारीको जागिर खाइदिने धम्की दिएका थिए ।

भदौ १० गते सोमबार नोटबजारमा शर्माको दोहोरो नियुक्ति राष्ट्र बैंकको व्यवस्था विपरीत भएको र राष्ट्र बैंक सो सम्बन्धमा मौन बसेको समाचार प्रकाशित भएको थियो । सो समाचार प्रकाशन भएलगत्तै स्वतन्त्र सञ्चालक नियुक्तिको एजेन्डा राखेर अध्यक्ष शर्माले कम्पनी सञ्चालक समितिको बैठक बोलाएका थिए ।

उनले राष्ट्र बैंकमा सेटिङ मिलाएर लघुवित्तको अध्यक्ष बनेको भन्दै बैठकमा भनेका थिए, ‘राष्ट्र बैंकमा सेटिङ मिलाएकाले नै अहिलेसम्म कुनै समस्या नआएको हो । जस्तोसुकै समाचार बनाउन लगाए पनि मलाई केही हुनेवाला छैन । तर, तपाईँहरूचाहिँ आफ्नो विचार गर्नुहोला ।’