एनआईसी एशिया क्यापिटलले गर्यो लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम


“विश्व लगानीकर्ता सप्ताह, २०२४” को अवसरमा एनआईसी एशिया क्यापिटलले लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम अमरगडी ५, डडेल्धुरामा सम्पन्न गरेको छ ।

एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा विश्व लगानीकर्ता सप्ताह, २०२४ को अवसरमा विद्यार्थी तथा विभिन्न पेशामा आवद्ध व्यक्तित्वहरु र सर्वसाधारणहरुलाई लक्षित गरी सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्ला, अमरगडी–५, डडेल्धुरामा लगानीकर्ता सचेतना तथा वित्तीय साक्षरताका साथै अन्तरक्रिया कार्यक्रम कार्तिक ९ गते शुक्रबार सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्राथमिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

सोही कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्क लिमिटेडका अधिकारी किशोर भट्टले समेत सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराइरहेको सेवाहरु र उक्त सेवा के कसरी सुरक्षित रुपमा लिन सकिन्छ भन्ने लगायत पछिल्लो समय कारोवार भएका शेयर राफसाफ गर्दा आएको समस्याहरुको सम्बन्धमा जानकारी तथा छलफल गरिएको थियो ।

दुई चरणमा गरिएको उक्त कार्यक्रममा १३० जना भन्दा बढी युवा विद्यार्थी, विभिन्न पेशामा आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ११ कात्तिक २०८१, आइतबार  १५ : १८ बजे