काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अलिपे प्लस (Ali pay+) को नेटवर्कमा रहेका सदस्य वालेटहरु मार्फत नेपालपे मर्चेन्टहरुका क्युआरमा अन्तरदेशीय भुक्तानी गर्नका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा यस अन्तर्गतका इन्टरओपरेबल क्युआरको मर्चेन्ट क्युआरमा अलिपे प्लसको नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले आनो डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपाल पे क्युआर तथा यसका इन्टरओपरेबल क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । अलिपेको नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि एक्वाइरिङ नेटवर्क, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् । यस नेटवर्कमा अलिपे चीन, ओसिबिसी, च्याङ्गीपे जीक्यास, अलिपेएचके, हाइपे, काकाओपे, टसपे, नेभरपे, टिएनजीडि, पिबिबि, ट्रुमनी, एमपे, टिनावामार्फत अन्तरदेशीयभुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ । एनसीएचएलले अलिपे प्लससँग अन्तराष्ट्रिय भुक्तानी साझेदारका रुपमा आबद्ध भई दुइ नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ती आवश्यक व्यवस्था मिलाइसकेको छ ।यसै पहल अनुरुप अब एभरेष्ट बैंकसँग सो भुक्तानी सेवा कार्यान्वयन गर्ने सम्झौता भएको हो ।
नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपालपे क्युआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे एक स्वतन्त्र क्युआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्न स्थापना भएको पूर्वधार हो ।हाल नेपालपे क्युआरको नेटवर्कमा ८ लाख ५० हजार भन्दा बढि (इन्टरओपरेबल क्युआर समेतका) मर्चेन्टहरु आबद्ध रहेका छन् ।
एभरेष्ट बैंकले आफ्ना ३९ हजार १६७ डिलिभरी च्यानलहरु, नेपालमा रहेका १० हजार ९८ शाखाहरु, नेपालबाहिर रहेका २ वटा शाखा, १३ हजार ३५० एटिएमहरु तथा १५ हजार ७१९ बिजिनेस करेस्पोन्डेन्टहरु मार्फत आफ्ना १४ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले नेपालपे क्युआरमा २३ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरिसकेको छ ।