नेप्से परिसूचक १४ अङ्कले बढ्दा १० अर्ब माथिको सेयर किनबेच


 नेपाल स्टक एक्सचेन्ज  (नेप्से) परिसूचकमा बिहीबार दोहोरो अङ्कको सुधार आएको छ । पछिल्ला दुई दिन निरन्तर घटेको नेप्से सूचक साताका कारोबार दिन मध्येको अन्तिम दिन बिहीबार बढेको हो ।
मङ्गलबार ११ र बुधबार १४ अङ्कले घटेको नेप्से परिसूचक बिहीबार १३.९५ अंकले बढेको छ । बिहीबार नेप्से परिसूचक सँगै कारोबार रकम पनि बढेर १० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । नेप्से सूचक सँगै कारोबार रकममा पनि आएको सुधारले आगामी साता बजार सुधारको बाटोमा जाने सङ्केत गरेको बुझ्न सकिन्छ । 

पछिल्लो समयमा वित्तीय प्रणालीमा अधिक तरलतासँगै ब्याजदर घट्दो क्रममा भएपनि कर्जा लगानी बढ्न सकेको छैन । आर्थिक मन्दी पनि अर्थतन्त्रले गति लिन नसक्दा बैंकहरुले कर्जा लगानी विस्तार गर्न सकेका छैनन् । त्यसको सकारात्मक असर धितोपत्र बजारमा देखिएको छ । 

विगतका दिनमा जस्तो जुनसुकै क्षेत्रमा गएको कर्जा पनि पुँजी बजारमा आउने अवस्था नभएपनि धितोपत्र बजारका बढ्ने अपेक्षामा लगानीकर्ता देखिन्छन । लगानीका अन्य क्षेत्र नभएपनि बैंकिङ क्षेत्रको केही पैसा सेयर बजारमा पनि आउने विश्लेषण सहित आगामी दिनमा बजार झनै माथि जाने लगानीकर्ताको बुझाई छ । पछिल्लो समयमा धितोपत्र बजार लगानी विस्तारै बढेको पनि छ । लगानी बढेसँगै बजार सूचकमा पनि सुधार आएको छ । 

यो साता नेप्सेमा कारोबार भएका ५ दिन मध्ये ३ दिन बजार सूचक बढेको छ भने २ दिन घटेको छ । आइतबार र सोमबार बढेको नेप्से सूचक मंगलबार र बुधबार घटेको भएपनि बिहीबार बढ्यो । बिहीबार नेप्सेका कारोबार भएका १५९ कम्पनीको सेइर मूल्य बढेपछि समग्र बजार सुचक पनि करिब १४ अंकले बढेर २७४८.७८ विन्दुमा पुगेको छ । 

बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक मध्ये बैंकिङ ६.७८, विकास बैंक ६७.४९, होटल ६०.९७, जलविद्युत ४७.३७, लघुवित्त ३९.८४, सामूहिक लगानी कोष ०.०३ र अन्य समूहगत सूचक १३.१३ अंकले बढेको छ । तर, वित्त ३.३७, लगानी ०.०३, जीवन बीमा ४.७९ उत्पादन मूलक १७.६५, निर्जीवन बीमा ११.८६ र ब्यापार समुह २२.७५ अंकले घटेको छ । 

बिहीबार नेप्सेमा ३२१ कम्पनीको एक लाख एक हजार ५ सय ५४ कारोबारबाट १० अर्ब ३२ करोड रुपैयाँ बरावरको २ करोड १६ लाख ६० हजार कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेका ७ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित मिति: २९ कात्तिक २०८१, बिहीबार  १५ : ३२ बजे