उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रलाई सबल र चलायमान बनाउन सरकार प्रयासरत रहेको बताएका छन । निजी क्षेत्रले उठाएका विषयलाइ सम्बोधन गरेर अर्थतन्त्र चलायमान बनाउने सन्दर्भमा सरकार लागि परेको उनले बताएका हुन ।
नेपाल विद्युत् व्यवसायी महासङ्घले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक–२०२४’ उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले उत्पादनमूलक क्षेत्रमा लागानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । उनले प्रसारण लाइन तथा ऊर्जाका अन्य क्षेत्रमा नेपालमा बनेका सामग्रीको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरेका छन् । उत्पादनमूलक क्षेत्रलाई थप परिस्कृत र विकास गर्नुपर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रले उठाएका विषयलाई कार्यान्वयन गराउन सरकार प्रयासरत रहेका बताए । उद्योगी व्यवसायीले प्रदर्शनी कक्षको माग गरेको सन्दर्भ जोड्दैउनले सहरी विकास मन्त्रालयले यसका लागि आवश्यक तयारी गरेर प्रक्रिया अगाडि बढाउने बताए ।
उपप्रधानमन्त्री सिंहले कूल गार्हस्थ वृद्धि गर्न उत्पादनका क्षेत्र बढाउनुपर्नेमा जोड दिए । “नेपालको कूल गार्हस्थ उत्पादनलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्र बढाउनु आवश्यक छ । अहिले ‘क्लिन इनर्जी’ को आवश्यकता बढ्दै गएकाले स्वदेशमा पुग्ने विद्युत् उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनेतर्फ सबै एकजुट भएर सहकार्य गर्नु जरुरी छ । नेपालमा बनेका सामग्री प्रयोग गर्न सके अर्थतन्त्रमा सकारात्मक परिणाम दिनेछ”, उनले भने ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको सुधारका लागि आफूहरूले समयमा ध्यानाकर्षण गराएको स्मरण गेरे । आयात नियन्त्रण गर्दा राजस्व कम उठ्ने, अवैध कारोबार विस्तार हुने भन्दै निजी क्षेत्रले विगतमा सरकारको ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले निजी क्षेत्रले उठाएका विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
आजदेखि सुरु भएको फिन इलेक्ट्रो टेक–२०२४ आगामी मङ्सिर २ गतेसम्म सञ्चालन हुनेछ । विद्युत् तथा विद्युतीय सामग्रीको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।
प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक ऊर्जा उद्यमहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्न लागिएको छ । मेलामा ४४ वटा ब्लक, २८ स्टल र एक ‘प्याभिलिएन’ छ ।
स्टलमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिव्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक स्वीच, एलिडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्री राखिएका छन् । इलेक्ट्रो टेक प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको छ । यो ११औं संस्करण भएको आयोजक समितिका अध्यक्ष रेमशप्रसाद देवकोटाले जानकारी दिनुभयो । च गर्नुहोस्
प्रतिक्रिया