नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.२० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार ग्राहकसँगको सम्झौता आम्दानी १.११ प्रतिशतले बढेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ भने वित्तीय आम्दानी ३३ प्रतिशतले घटेर १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.४९ प्रतिशत घटेर १० अर्ब ६ करोड ३७ लाख रुपैयाँमा सिमित भएको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६ रुपैयाँ ४० पैसा घटेर ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५३५ रुपैयाँ ९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.८३ गुणा रहेको छ।
चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ सञ्चित रहेको छ।
प्रतिक्रिया