मौद्रिक नीतिको त्रैमासिक समीक्षाको ह्याङ्ग उत्रिएसँगै सेयर बजारमा सुधार, साढे १० अर्बको कारोबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर २५८.४ विन्दुमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा मार्फत कर्जा नीति खुकुलो बनाउने अपेक्षा सेयर लगानीकर्तामा थियो । तर, सो अनुसार केन्द्रीय बैंकले मौद्रिक व्यवस्थालाई यथावत नै राखेपछि सेयर लगानीकर्तामा केही दुबिधा देखिएको भएपनि सोमबार त्यसले निरन्तरता पाउन सकेन ।

शुक्रबार केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गरेपनि यो साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० अङ्कले घटेको थियो । तर, सोमबार भने घट्ने क्रम रोकिएर बजार सूचक १९ अङ्क भन्दा धेरै बढेको हो । त्यसका साथै कारोबार रकममा पनि उल्लेख्य सुधार आएसँगै सेयर लगानीकर्ता केन्द्रीय बैङ्कलाई देखाएर आफ्नो लगानीको निर्णयलाई परिवर्तन नगरेका स्पष्ट हुन्छ ।   

आइतबार तीन सय १४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार पाँच सय ६४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैङ्किङ ०.५९, विकास बैङ्क १.७२, वित्त १.९७ र अन्य समूह ०.३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ९.७० र होटल तथा पर्यटन समूह ४.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै, जलविद्युत् ०.६२, लगानी ०.६०, जीवन बीमा १.९१, उत्पादन तथा प्रशोधन समूह ०.१५, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.४१ र निर्जीवन बीमा ०.२० प्रतिशतले बढेको छ ।

सोमबार तारागाउँ होटल रिजेन्सी लिमिटेड, विशालबजार कम्पनी लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा ८.७२ प्रतिशतको गिरावट देखिएको छ ।

 

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार  १६ : ४६ बजे