टिकेन सेयर बजारको सुधार, कारोबार रकम भने ९ अर्ब माथि


सेयर बजारको सुधारले बुधबार निरन्तरता पाउन सकेन । बुधबार नेप्से परिसूचक घटेको भएपनि कारोबार रकममा देखिएको सुधार लगानीकर्ता निरास नै भएको अवस्था भने होइन । 

अर्थतन्त्रमा देखिएको सुस्तताका कारणले पनि सेयर लगानीकर्ता दीर्घकालिक लगानी बढाउन नसक्दा समस्या देखिएको हो । आर्थिक गतिविधि सुस्त हुँदा धितोपत्र बजारमा पनि लगानीकर्ता भन्दा पनि कारोबारी हावी भएको अवस्था छ । धितोपत्र बजारमा कारोबारी हाबी हुँदा नेपाल स्टक एक्सचेन्ज९नेप्से० सूचकमा अस्थिरता देखिएको हो ।

पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीको वास्तविक अवस्थासँग मेल नै नखाने गरी सेयर मूल्य बढेको छ । कमजोर कम्पनीको सेयर मूल्य हल्लाका भरमा उच्च दरमा बढेको अवस्था छ । त्यसले गर्दा पनि बजारमा कारोबारी हावी भएको स्पष्ट हुन्छ । बजारमा अनेक हल्ला फैलाउने र सेयर मूल्य बढाएर बिक्री गर्ने जस्ता अस्वभाविक गतिविधि गर्ने कारोबारी हावी हुँदा धितोपत्र बजार सूचक एक कारोबार दिनमा पनि धेरै पटक बढ्ने र घट्ने गरेको हो । बुधबार मात्रै नेप्से सूचक तिन पटक बढेको छ भने तिन पटक घटेको छ । कारोबार सुरु हुँदा २० अंक सम्मले बढेको नेप्से अन्तिम समयमा करिब २५ अंकले घटेर बन्द भएको छ । बुधबार नेप्से सूचक २७९५ विन्दु सम्म पुगेको नेप्सेले जनाएको छ । 

बुधबार नेप्से २४.९७ अङ्कले घटेर २७५०.८७ को बिन्दुमा कायम भएको हो । नेप्सेमा तीन सय २० कम्पनीको दुई करोड तीन लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६ सय ७७ पटक खरिदबिक्री हुँदा ९ अर्ब अर्ब १३ करोड २४ लाख ६८ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार जलविद्युत समूह ०.५९, उत्पादन तथा प्रशोधन ०.१४ र लघुवित्त ०.१२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह ८.७२ प्रतिशतले घटेको छ । 

बैंकिङ ०.३४, विकास बैंक १.९४, वित्त १.२४, होटल तथा पर्यटन ०.४० र लगानी समूह ०.०२ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बिमा १.५०, म्युचुअल फण्ड ०.३४, निर्जीवन बिमा ०.३३ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ ।

खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३० करोड ३० लाख ६९ हजार दुई सय २५ रुपैयाँ बरारबको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ११ लाख ९५ हजार नौ सय ८४ कित्ता सेयर किनबेच भएको छ । 

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार  १५ : ५१ बजे