पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार, महासङ्घ र सिसिपिआइटीले आर्थिक साझेदारी गर्ने


नेपालमा चिनिँया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । चीन तथा नेपालका सरकारी तथा निजी क्षेत्रले लगानी विस्तार र व्यापार सहजिकरणका लागि आवश्यक सुधारका काम गर्ने भएका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाएका हुन । द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिँया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताए । 

उनले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गरे । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उनले बताए । प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताए । उनले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सँधै तत्पर रहेको बताए । 

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उनले बताए । नेपालका कृषिजन्य उत्पादनहरूको चीनमा बजार रहेकाले व्यापार सहजिकरणका लागि प्रयत्न गर्नुपर्ने बताए । 

सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाइ सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताए । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताए । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताए । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताए । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।
उनले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताए । यसैगरी, उनले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताए ।
महासंघसिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको बताए । यसैगरी द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको जानकारी उनले दिए । सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा उनले जोड दिए । जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताए । 

पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको उनले बताए । नेपाल चिनिँया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गरे ।

ससिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउँदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताए । उनले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताए । उनले महासंघसिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराए । 

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउँदै नेपालमा चिनिँया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताए । महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गरे । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उनले बताए । 

समिटमा १२० जना चिनिँया व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । 

प्रकाशित मिति: १९ मंसिर २०८१, बुधबार  १७ : १० बजे