व्यवसायिक घराना गोल्छा ग्रुपले इनस्योर (इनह्यान्स स्किल्स फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) परियोजनासँग साझेदारी गर्दै उद्योगमा आधारित प्रशिक्षुता कार्यक्रम सञ्चालन गर्ने भएको छ। गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छा र इनस्योर परियोजनाका टिम लिडर रविन्द्र बहादुर सिंहले साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षेर गरेका छन् ।
यस परियोजनाले शिक्षा र रोजगारीको बीचमा रहेको खाडल हटाउँदै युवाहरूलाई रोजगारमूलक सीप प्रदान गर्ने लक्ष्य राखेको छ । सम्झौता अनुसार शिक्षार्थीहरूलाई अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, र सूचना प्रविधिका क्षेत्रमा तालिम प्रदान गरिनेछ । साथै, कर्मचारीहरूको लागि सीप अभिवृद्धि तालिम समेत गराइनेछ।
इनस्योर परियोजना नेपालको र स्विजरल्याण्डको सरकारको सहयोगमा सञ्चालित द्वैध व्यावसायिक शिक्षा तथा तालिम शिक्षार्थी कार्यक्रम मोडेलमा आधारित छ। यसले प्राविधिक विद्यालयहरूमा प्राप्त सैद्धान्तिक ज्ञानलाई उद्योगमा कार्यानुभव सँग जोड्छ। तालिमपछि शिक्षार्थीहरूले सीटीईभीटीबाट प्रि(डिप्लोमा प्रमाणपत्र पाउनेछन्।
शेखर गोल्छाले यस साझेदारी प्रति उत्साह व्यक्त गर्दै भने, ‘यस पहलले नेपालका युवाहरूलाई प्रतिस्पर्धी रोजगारीका लागि आवश्यक सीप दिने हाम्रो प्रतिबद्धता देखाउँछ।’ इनस्योर का टिम लिडर सिंहले भने, ‘गोल्छा ग्रुप सँगको यो सहकार्य नेपाललाई दक्ष जनशक्तिको बाटोतर्फ अग्रसर बनाउने कोशेढुङगा हो।’
गोल्छा ग्रुपले १०० भन्दा बढी कम्पनीहरू सञ्चालन गर्दै आएको छ । यो साझेदारीले नेपाली उद्योगको विकासमा टेवा पुऱ्याउँदै देशको आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया