उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई महासंघ अध्यक्ष ढकालको आह्वान


स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान गरेका छन् ।

तनहुँको भानु नगर महोत्सव समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अब लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताएका हुन् । महासंघ अध्यक्ष ढकालले स्वदेशी पुँजी परिचालनलाई केन्द्रमा राखेर १० अर्व पुँजीको लगानी कम्पनी स्थापना भएको जानकारी गराउँदै लगानी परियोजना प्रस्ताव गर्न आग्रह गरे ।

नेपालको पर्यटन, ऊर्जा, सूचना प्रविधि र कृर्षि उत्पादनका क्षेत्रमा अवसर नै अवसर भएकाले लगानीका लागि वित्तीय प्रबन्ध जुटाउन तथा साझेदारी गर्न नयाँ कम्पनी बनेकाले यसबाट फाइदा लिन पनि स्थानीय उद्योगीहरुलाई उनले आग्रह गरे ।

महासंघको आग्रहमा नेपाल सरकारले लगानीमा अवरोध हुने ठानिएका कानुनमा सुधार गरिरहेकाले पनि लगानीका लागि उपयुक्त अवसर सृजना भइरहेको उनको भनाई थियो ।

पर्यटक आगमन बढिरहेको, रेमिटेन्स मार्फत वैदेशिक मुद्रा पर्याप्त रहेको तथा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर पनि सन्तुलित भइरहेकाले लगानीका लागि उपयुक्त समय आएको ढकालको भनाइ थियो ।

भानुभक्त आचार्यको जन्मस्थललाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन र स्थानीय उत्पादनको प्रर्वद्धनमा भइरहेका प्रयासमा साथ दिइरहेको उनले बताएका थिए ।

प्रकाशित मिति: ९ पुस २०८१, मंगलबार  १७ : ४७ बजे