नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो, ४ अर्बको कारोबार


यो साता कारोबारको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक ५.३२ अङ्कले बढेर २५९१.५६ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय २७ कम्पनीका ९३ लाख ८६ हजार सात सय २१ कित्ता सेयर ६१ हजार एक सय ६७ पटक खरिदबिक्री हुँदा चार अर्ब ८६ करोड दुई लाख एक हजार नौ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ ०.५५, वित्त १.०४, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.१४ र म्युचुअल फन्ड ०.७४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । विकास बैंक ०.०२, होटल तथा पर्यटन ०.६०, जलविद्युत् १.६७ र लगानी समूह ०.३९ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा ०.२७, निर्जीवन बीमा ०.०४, व्यापार १.१४ र अन्य समूह ०.१० प्रतिशतले बढेको छ ।

तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड र ग्रीन भेन्चर्स लिमिटेडको सयर मूल्य १० प्रतिशतले बढेको हो । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ८.८८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनी लिमिटेडको १९ करोड नौ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको तीन लाख ८३ हजार पाँच सय ६ कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: २१ पुस २०८१, आइतबार  १५ : ५८ बजे