नेप्से परिसूचक ५० अंकले बढ्दा ६ अर्ब ३० करोडको कारोबार


 सेयर बजार परिसूचक सोमबार करिब ५० अंकले बढेको छ । गत साताको बुधबार देखि सुधारको गतिमा देखिएको धितोपत्र बजार सूचकले यो साताको दोस्रो दिन सोमबार पनि निरन्तरता पाएको हो । 

राजनीति वृत्तिमा हुने गतिविधिलाई आधार बनाए घट्ने बढ्ने गरेको धितोपत्र बजार गत साता देखि निरन्तर बढिरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार तत्काल परिवर्तन नहुने देखिएपछि सेयर लगानीकर्ताको मनोबल पनि सकारात्मक भएको हो । त्यसका साथै सूचिकृत कम्पनीहरूले सेयर धनीलाई लाभांश दिने समयमा भएकाले पनि धितोपत्र बजारले सकारात्मक गति लिएको हो । 

सोमबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक १.८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर २६४०.६८ विन्दुमा पुगेको छ ।

सोमबार नेप्सेमा ३१२ कम्पनीको एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता सेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँ कारोबार भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार सोमबारको कारोबारपछि दुई २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै, चार वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

सोमबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.७० प्रतिशत, साहास ऊजा लिमिटेडको सेयर मूल्य ८.७० प्रतिशत, माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । त्यसैगरी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति: २२ पुस २०८१, सोमबार  १५ : ३६ बजे