गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेका थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो । त्यसैगरी, कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ ।

कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

सीडिएससीका अनुसार पुस २३ गतेसम्म १४ लाख ९२ हजार ७६९ वटा आवेदनबाट एक करोड ९९ लाख ९१ हजार ८९० कित्ता शेयरको माग परेको छ । जुन सर्वसाधारणबाट माग भएको संख्याको १२ गुणा हो । मंगलबार बिहानसम्म एक अर्ब ९९ करोड ९१ लाख ८९ हजार रूपैयाँ बराबरको आवेदन परेको हो।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। हाल कम्पनीको हालको चुक्ता पुँजी ५२ लाख ५० हजार कित्ता अर्थात ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार ०८ : २६ बजे