नेप्से परिसूचकमा पाँच अङ्कको सुधार, ६ अर्बको कारोबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अङ्कको सुधार देखिएको छ । परिसूचक ५.०८ अङ्कले बढेर २६१३.०८ को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता सेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा ६ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ समूह ०.३५, वित्त १.०३, जलविद्युत् ०.९२, म्युचुअल फन्ड ०. ४८ र व्यापार समूह २.१० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।

विकास बैंक ०.१९, होटल तथा पर्यटन ०.७८, लगानी ०.७४, जीवन बीमा १.१० र उत्पादन तथा प्रशोधन ०.८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त ०.०३, निर्जीवन बीमा १.७८ र अन्य समूह २.७९ प्रतिशतले बढेको छ ।

मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको सेयर मूल्य ८.९६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै सिइडिबी होल्डिङ्स लिमिटेडको २३ करोड ७६ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै प्रभु सेलेक्ट फन्डको ४ लाख ७५ हजार ९ सय कित्ता इकाइ किनबेच भएको छ ।

प्रकाशित मिति: ८ माघ २०८१, मंगलबार  १५ : ५७ बजे