सुशासन कायम गर्न अध्यादेशः मन्त्री गुरुङ


सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको बताएका छन् । उनले सुशासन बिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरेको बताएका हुन ।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए । यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गरे ।

उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताए । “मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्, अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्”, उनले भने । उनले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्ममा दुवै राजनीतिक दल मिलेको स्मरण गरे ।

साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उनको भनाइ थियो । त्यसअवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जमिन्द्रमान लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार  १६ : ४३ बजे