अमेरिकाको वासिङ्टन डिसी नजिकै अमेरिकी एयरलाइन्सको विमानअमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको छ । विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए ।
अहिलेसम्म १८ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले प्रहरी अधिकारीहरूले उद्धृत गरी जानकारी गराएका छन् । बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै थियो । अमेरिकी सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनापछि हावामा दुई भाग भई पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नदीमा खोजी तथा उद्धार कार्य जारी छ । स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको घटनाको अनुसन्धान सुरु गरिएको छ ।
दुर्घटनापछि ठूलो संख्यामा आकस्मिक बलका सदस्यहरू विमानस्थलमा पुगेका छन्। घटनास्थलमा १० भन्दा बढी एम्बुलेन्स र ट्रकपनि रहेका छन् । रेगन एयरपोर्टले सामाजिक सञ्जाल एक्समा एक सूचना जारी गर्दै लेखेको छ,,“तत्कालका लागि सबै उडान स्थगित गरिएको छ ।”
एक अमेरिकी सैनिक अधिकारीले अमेरिकी समाचार च्यानल सीबीएसलाई बताएअनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर थियो । हेलिकप्टरमा अमेरिकी सेनाका तीन सैनिक सवार थिए । हेलिकप्टरमा कुनै वरिष्ठ अधिकारी थिएनन्, तर त्यसमा सवार सैनिकको अवस्था पनि स्पष्ट छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुर्घटनापछि सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै भनेका छन्, ’रेगन नेसनल एयरपोर्टमा भएको दुर्घटनाबारे मैले पूर्ण जानकारी पाएको छु । अवस्थाको अनुगमन भइरहेको छ ।” उनले यस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै अगाडि भनेका छन्, “मृतकका आत्मालाई भगवानले शान्ति प्रदान गरुन् ।”
वासिङ्टन विमान दुर्घटनाः चिसोका कारण पानीमा उद्धार कार्य ‘अत्यन्त कठिन’
बम्बार्डियर कम्पनीको सीआरजे ७०० विमान विचिटा क्यानकासबाट वासिङ्टनतर्फ जाँदै गरेको अमेरिकी यात्रुवाहक विमान र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर आकाशमा ठोक्किएर भएको दुर्घटनाका परेका यात्रुको उद्दार कार्य जारी रहेको अधिकारीले बताएका छन्।
आकाशमा दुर्घटना भएपछि विमानका दुई ठूला टुक्रा पोटोम्याक नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुको खोजी कार्य भइरहेको तर रातको समय, पानी र चिसो मौसमका कारण उद्धार कार्य गरिरहेका उद्धारकर्मीहरूले ’अत्यन्त कठिन’ अवस्थाको सामना गर्नुपरेको वासिङ्टनका अग्नि नियन्त्रक जोन डोनेलीले रेगन नेसनल एयरपोर्टमा पत्रकारसँगको प्रश्नको जवाफ दिने क्रममा बताए ।
उनले भने, “करिब ३०० आपतकालीन उद्धारकर्ताले पोटोम्याकमा खोजी गरिरहेको तर उच्च हावा, रातको समयमा कम दृश्यता, चिसो मौसम र धमिलो पानीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।”
स्थानीय समयअनुसार राति ९ बजे वासिङ्टन रेगन नेसनल एयरपोर्ट नजिकै दुर्घटना भएको विमानमा ६० जना यात्रु र चार जना चालक दलका सदस्यसहित ६४ जना सवार रहेका थिए । त्यसैगरी हेलिकप्टरमा तीन जना रहेका थिए ।
प्रतिक्रिया