इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत हुन धितोपत्र बोर्डको निर्देशन


नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचिकृत हुन निर्देशन दिएको छ । सरकारले सम्पत्ति शुद्धिकरणको सन्दर्भमा इन्भेष्टमेन्ट कम्पनीको नियामक निकाय धितोपत्र बोर्डलाई तोकेपछि बोर्डले त्यसको कार्यान्वयन सुरु गरेको हो ।

धितोपत्र बजारमा इन्भेष्टमेन्ट कम्पनी मार्फत हुने सम्पत्ति शुद्धिकरण नियन्त्रणका लागि धितोपत्र बोर्डलाई तोक्ने निर्णय गत पुस १९ गते निर्णय गरेको थियो । उक्त निर्णयका आधारमा धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीलाई बोर्डमा सूचिकृत हुन आह्वान गरेको हो ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना १ बमोजिम नेपाल सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ न. को उपदफा ९२ ले दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा दश करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीको हकमा बोर्डलाई नियमनकारी निकाय तोकेको छ । सो अनुसार पुँजी तथा कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक कागजात लिइ बोर्डमा सूचिकृत गर्न आह्वान गरेको हो ।

बोर्डका अनुसार सूचिकृत हुनका लागि निवेदन पत्रसँगै संचालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा शेयरधनीको लगत) पेस गर्नु पर्नेछ । त्यसैगरी कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाण पत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र  विवरण, कार्यकारी प्रमुखको विवरण ( नाम, ठेगाना, सम्पर्क नम्बर) पनि बोर्डमा पेस गर्नु पर्ने बोर्डले जनाएको छ ।

त्यसैगरी निवेदनसँगै कम्पनीको संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको संचालक समितिबाट बोर्डमा सूचिकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबार समेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्ता पुँजी खुल्ने कागजात तथा विवरण पेस गर्नु पर्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रकाशित मिति: २३ फागुन २०८१, शुक्रबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।