नेप्सेमा यो साता थपियो ४ करोड कित्ता सेयर, सेयर तरलता बढाउँदा पुँजीकरणमा यस्तो असर


बजार सुचक घटेर समग्र बजार पुँजीकरण घटिरहेका बेला विभिन्न कम्पनीका साधारण सेयर, बोनस, हकप्रद तथा थप नयाँ निष्काशनका सेयर सूचीकरण भइरहेका छन् । यसरी थपिएका सेयरले बजार पुँजीकरणको गिरावटलाई कम बनाउन टेवा पुर्याइरहेका छन् ।

वर्ष दिनभन्दा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दा रोकिएका प्राथमिक निष्काशनहरु अहिले धमाधम स्वीकृत भईरहेका छन् । ती कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरमा निष्काशन भएका सेयरहरु नेप्सेमा सूचीकरण भई दोस्रो बजारमा २ हजार रुपैयाँसम्मको मूल्यमा किनबेच भएका छन् । अंकित मूल्यमा सूचीकरण हुँदा नै समग्र बजार पुँजीकरणमा योगदान गरेका यस्ता कम्पनीका सेयर मूल्यमा आएको वृद्धिले बजार पुँजीकरणमा थप योगदान पुर्याइरहेका छन् ।

यो साता मात्र ६ वटा कम्पनीका बोनस, हकप्रद तथा एफपिओ नेपाल स्टक एक्स्चेञ्जमा कारोबारका लागि सूचीकरण भएका छन् । ६ वटा कम्पनीले कुल ४ करोड ११ लाख १७ हजार ८२७.४ कित्ता सेयरहरु नेप्सेमा सूचीकरण गराएका हुन् ।
जसमा लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई वितरण गरेको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकरण गराएको छ । बैंकले १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता सेयर सूचीकरण गराएको हो ।
विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ७.६० प्रतिशतले हुन आउने ७ लाख ९८ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

स्वरोजगार लघुवित्तले निष्काशन गरेको थप नयाँ सेयर पनि दोस्रो बजारमा कारोबारका लागि सूचीकृरण भएको छ । लघुवित्तको १ लाख ९५ हजार ७७३ कित्ता थप नयाँ सेयर नेप्सेमा सूचीकरण भएको हो ।

साना किसान विकास लघुवित्तको १३.३० प्रतिशतले हुने ५० लाख ६२ हजार ४७७.१५२ कित्ता बोनस सेयर पनि यसै साता नेीसेमा सूचीकरण भएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले साविकका सेयरधनीलाई बिक्री गरेको ८८.४५१ प्रतिशत हकप्रद सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सूचीकरण गराएको हो ।

पछिल्लो समयमा गार्जियन माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा ७५ करोड रुपैयाँको सेयर निष्काशन गरी नेप्सेमा सूचीकरण गराएको थियो । अहिले सो पुँजीको पुँजीकरण १५ अर्ब २६ करोड ६४ लाख रुपैयाँ कायम भएको छ ।

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्सले भर्खरै निष्काशन गरेका सेयर नेप्सेमा सूचीकरण भइसकेका छैनन् । नेको इन्स्योरेन्सले निष्काशन गरिरहेको २५ प्रतिशत हकप्रद तथा विन नेपाल लघुवित्तको एफपिओ, पियोर इनर्जीको साधारण सेयर लगायत अन्य कम्पनीको हकप्रद निष्काशन भई सूचीकरण हुँदा त्यसले समग्र बजार पुँजीकरणको आकार बढाउनेछ ।

बजार अहिले निरन्तर ओरालो लागिरहेको अवस्थामा बजार पुँजीकरण पनि त्यसरी नै घटिरहेको छ । नयाँ सूचीकरणका कारण पुँजीकरणको गिरावट कम भए पनि अर्कातिर सेयरको तरलता बढिरहेको छ । बजार घटिरहेको अवस्थामा बढेको सेयर संख्याले लगानीकर्ताहरुमा सेयर बिक्रीको दवाब पर्न सक्छ ।

प्रकाशित मिति: ८ चैत २०८१, शुक्रबार  ११ : २६ बजे