बीमा शुल्क संकलन १०.५६ प्रतिशतले बढ्यो, दायरा विस्तार भने सुस्त


चालु आर्थिक वर्ष (२०८१/८२) को आठ महिनामा बीमा कम्पनीहरुले कुल १ खर्ब ३८ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा १०.५६ प्रतिशतले बढी हो । गत वर्षको आठ महिनामा जीवन र निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ८५ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । बीमा शुल्क संकलन १०.५६ प्रतिशतले बढेता पनि दायरा विस्तारमा भने सुस्तता देखिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४४.१७ प्रतिशत जनसंख्या बीमाको दायरामा परेका छन् । गत आर्थिक वर्षसम्म बीमाको दायरामा ४३.१६ प्रतिशत जनसंख्यामा थियो । समीक्षा अवधिमा कुल बीमाको दायरा पुगनपुग १ प्रतिशतले मात्र बढेको छ ।

यता, म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत फागुनसम्म १६.५७ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएका छन् । बीमाको दायरा आठ महिनामा १७.०४ प्रतिशतबाट १६.५७ प्रतिशतमा खुम्चिएको हो ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब ९ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब ६० करोड ८४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय ११ प्रतिशत बढेको छ भने निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.९१ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५९ करोड ६ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब २६ करोड ८४ लाख बीमाशुल्क संकलन गरेका थिए ।

चालु आर्थिक वर्षको फागुनसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६४ लाख १३ हजार ६३३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ३६ हजार २२१ वटा जारी भएका छन् । अघिल्लो वर्ष यही अवधिसम्ममा म्यादी र लघु म्यादी जीवन बीमालेखको संख्या ६३ लाख ४ हजार ११२ वटा र वैदेशिक रोजगार बीमालेखको संख्या २० लाख ९ हजार ३५१ वटा थियो । अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या १.७४ प्रतिशतले घटेको छ भने वैदेशिक रोजगार बीमालेख संख्या २१.२४ प्रतिशतले बढेको हो ।

यस अवधिमा कुल जारी भएका जीवन बीमालेखको संख्या १७.०६ प्रतिशतले घटेर ३८ लाख ३४ हजार ५४४ वटामा सीमित भएको छ । गत वर्ष जीवन बीमालेखको संख्या ४६ लाख ५३ हजार ७२९ वटा रहेको थियो ।

यता, समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या २.१२ प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ५.८२ प्रतिशतले बढेको छ ।

फागुनसम्म कुल सक्रिय जीवन बीमालेखको संख्या भने १ करोड ४२ लाख ३८ हजार ६४८ रहेको छन् । यस्तै कुल सक्रिय निर्जीवन बीमालेखको संख्या २० लाख ७३ हजार ४६३ रहेको छ ।

फागुन मसान्तसम्म बीमा कम्पनीहरुको कार्यालय संख्या २.०५ प्रतिशतले बढेर २ हजार ९९२ पुगेको छ भने कर्मचारी संख्या ४.६७ प्रतिशतले बढेर १२ हजार ९५ पुगेको छ ।

यता, जिवन बिमा कम्पनीहरुको कार्यालय संख्या ०.२२ प्रतिशतले बढेर १ हजार ८४५ पुगेको छ भने निर्जिवन बीमा कम्पनीहरुको कार्यालय संख्या ५.१३ प्रतिशतले बढेर १ हजार १४७ पुगेको छ ।

प्रकाशित मिति: २४ चैत २०८१, आइतबार  १७ : ५४ बजे