अन्तर्राष्ट्रिय भुक्तानीमा सहकार्य : एनसीएचएल र मास्टरकार्डबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र विश्वप्रसिद्ध प्रविधि कम्पनी मास्टरकार्डबीच अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि क्यूआर कोडमार्फत सहज र सुरक्षित डिजिटल भुक्तानी प्रणाली विकास गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस सहकार्यअन्तर्गत, नेपाल भ्रमणमा आउने मास्टरकार्ड प्रयोगकर्ताहरूले एनसीएचएलको नेपाल पे र अन्य अन्तरसंयोजित क्यूआर व्यापारीहरूमार्फत “स्थानीयझैं भुक्तानी” गर्न सक्ने कम्पनीले जनाएको छ । यसले विदेशी पर्यटकलाई सहज अनुभव दिने मात्र नभई, नेपालमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई समेत प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

हाल नेपाल पे क्युआर नेटवर्कले करिब १० लाख व्यापारीलाई क्यूआर सेवा प्रदान गरिरहेको छ भने मास्टरकार्डका विश्वभर ३ अर्ब बढी प्रयोगकर्ताहरू छन् । यस अवस्थामा यो सहकार्यले नेपालमा आउने पर्यटकका लागि डिजिटल भुक्तानीको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंकद्वारा अनुमोदित सार्वजनिक लिमिटेड कम्पनी हो, जसले विभिन्न राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ । यसले इलेक्ट्रोनिक चेक क्लियरिङ (इसीसी), इन्टरबैंक पेमेन्ट सिस्टम (आइपीएस), नेशनल पेमेन्ट स्विच (एनपीएस) लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

मास्टरकार्डले भने विश्वका २०० भन्दा बढी देशहरूमा डिजिटल भुक्तानीलाई सुलभ, सुरक्षित र पहुँचयोग्य बनाउने उद्देश्यले काम गरिरहेको छ ।

प्रकाशित मिति: २ वैशाख २०८२, मंगलबार  १७ : ४८ बजे