६ लाख लगानी गरेर ३ महिनामै ८ लाख नाफा कमाए राजकिशोरले


सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले ३ बिघामा आलु खेती गरेका थिए । उनले सबै खर्चसहित ६ लाख रुपैयाँ खर्च गरेका थिए । साे लगानीबाट एकै सिजनमा उनले करिब १४ लाखको आलु उत्पादन गरेका छन् ।

३ महिना मिहिनेत गरेर आलु खेतीबाट ८ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको महतोको भनाइ छ ।  १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर ८ लाख रुपैयाँ नाफा भएको उनले बताए ।

‘विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि ३ महिना मिहिनेत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो,’ मेहताले भने ।

यहाँका अधिकांश बासिन्दाले हिउँदे बालीका रूपमा मुख्य गरी आलु खेती गर्ने गरेकाे कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।

यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए । समग्रमा वार्षिक ३ हजार हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ४ वैशाख २०८२, बिहीबार  ११ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।