काठमाडौँ । राजावादी आन्दोलनका क्रममा भौतिक सम्पत्ति र सवारीसाधनमा क्षति भएको करिब १ महिना बित्न लाग्दा पनि अझै पूर्ण रूपमा बिमा भुक्तानी हुन सकेको छैन ।
१५ चैतमा भएको उक्त आन्दोलनका कारण १९ वटा सवारीसाधनमा क्षति पुगेको थियो । जसअन्तर्गत करिब २७ लाख ५० हजार रुपैयाँ बराबरको मोटर बिमा दाबी गरिएको थियो । तर, सार्वजनिक सवारीसाधनकाे बिमा भुक्तानी हालसम्म हुन सकेको छैन ।
नेपाल बिमा प्राधिकरणका अनुसार आन्दोलनका कारण मोटर, सम्पत्ति, इन्जिनियरिङ र विविध बिमामा गरी कुल ४ करोड ५९ लाख ६२ हजार ७२१ रुपैयाँको दाबी गरिएको थियो । तर, अहिलेसम्म जम्मा ३३ लाख ३५ हजार ८५३ रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
प्राधिकरणका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडमा ७६ लाख ७० हजारको दाबी परेकामा २६ लाख ७ हजार १४० रुपैयाँ भुक्तानी भएको छ ।
यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडमा ७५ लाख ४९ हजार ४१३ रुपैयाँ बिमा दाबी परेकामा २ लाख २ हजार २०० रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
यसैगरी आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १७ लाख ३८ हजार ३०० रुपैयाँ बराबरको दाबी परेकामा २८ हजार ३०० रुपैयाँ भुक्तानी भएको छ ।
शिखर इन्स्योरेन्स कम्पनीमा ४ लाख ९८ हजार २१३ रुपैयाँको बिमा दाबी परेकामा कम्पनीले सबै रकम भुक्तानी गरेको छ ।
बिमालेख अनुसार सम्पत्ति बिमामा २ करोड ७८ लाख ८७ हजार ६१६ रुपैयाँको दाबी परेकामा ३२ लाख ४२ हजार ३४१ रुपैयाँ भुक्तानी भएको छ ।
निजी मोटर बिमामा १ करोड ६ लाख २३ हजार ९७७ रुपैयाँ दाबी गरिएकामा ९२ हजार ३८२ रुपैयाँ भुक्तानी गरिएको छ । विविधमा १० लाख १ हजार १३० रुपैयाँ दाबी गरिएकोमा १ हजार १३० रुपैयाँ भुक्तानी भएको छ ।
प्रतिक्रिया