वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजनाले आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरेसँगै कृषकहरु उत्साहित भएका हुन् ।
अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरु आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा विश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्ररित गर्दै आएको छ ।
अनुदानमा आधुनिक खोर निर्माण गरेकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसियाली छाएको बताएकी छन् । उनले भनिन्, ‘अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौं, अब सजिलो हुने भयो ।’ अहिले १२ बाख्रा पाल्दै आएकी मल्लले खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताएकी छन् । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्वी महिला कृषक समूहकी अध्यक्ष हुन् ।
वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले बताए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भईरहेको ‘वालिङ कृषि विकास परियोजना’ मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् ।
बाख्राको नस्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं. १ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खांणले बताए । उनले भने, ‘साझेदार संस्थाहरुसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौँ ।’
बाख्रा पालनलाई व्यवसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । निर्वाहमूखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रुपमा सवल बनाउने पालिकाको योजना रहेको उनको भनाई छ ।
प्रतिक्रिया