काठमाडौँ । साइबरनेटिक्स प्रा.लि. र ग्राण्डी इन्टरनेशनल अस्पताल बीच अन्तर्राष्ट्रिय स्तरको ‘हेल्थी हेल्थ प्याकेज’ का लागि सम्झौता भएको छ । स्वास्थ्य सेवा र डिजिटल प्रविधिमा नवीनतम उपलब्धि हासिल गर्दै दुई कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा ग्राण्डी अस्पतालका प्रमुख कार्यकारी अधिकृत कर्नेल अमृत खन्ना र साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले हस्ताक्षर गरेका हुन् । समारोहमा दुवै संस्थाका शीर्ष पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
सम्झौतामा दुबै संस्थाले विदेशमा रहेका व्यक्तिहरुले नेपालमा रहेका बिरामी आमा– बुवा तथा परिवारिक सदस्यको लागि उचित हेल्थी हेल्थ प्याकेज ल्याउने निर्णय गरेका छन् । जसले विश्वभरिमा रहेका छोराछोरी तथा आफन्तले अनलाइनबाट सेवा खरिद गरी नेपालमा रहेका परिवारलाई स्वास्थ्य सेवा प्रदान गर्न सक्नेछन् ।
समारोहमा बोल्दै ग्राण्डी अस्पताल प्रमुखले भने, ‘विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले अब आफ्नो बाआमा तथा आफन्तलाई विश्वस्तरीय स्वास्थ्य सेवा अनलाइनबाट खरिद गरी प्रदान गर्न सक्नेछन् । यो सम्झौता हामी सबैका लागि गर्वको क्षण हो ।’
त्यस्तै, साइबरनेटिक्सका प्रबन्ध निर्देशक जेम्स न्याछ्योनले भने, ‘हामी डिजिटल प्रविधिको सहायताले विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुले आफ्नो मातृभूमि नेपालमा बस्ने आफन्तजनहरुलाई स्वास्थ्य सेवा सुविधा पुर्याउने यात्रामा छौँ ।’
प्रतिक्रिया