एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा. शेष घलेले संस्था भित्र वृहत् एकताका लागि अपिल गरेका छन् । शुक्रवार एक वक्तव्य प्रकाशित गर्दै संयोजक घलेले संघ अहिले गम्भीर मोडमा आइ पुगेको बताए ।

‘यही वैशाख २० देखि २२ गते सम्म (मे ३–५, २०२५) मा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनको लागि डेलिगेट्स बन्न संसारभरिका ३ हजार २०० साथीहरूले आवेदन दिई सकेका छन् । छुट्टी मिलाएर, महँगो टिकट काटेर कतिपय साथीहरू नेपाल आइसकेका छन्, आउने क्रममा छन् । निर्वाचन कार्य तालिका पनि प्रकाशित भइसकेको छ,’ घलेले भने ।

‘यस्तो अवस्थामा महाधिवेशन रोक्न खोज्नु वा कुनै पनि किसिमको भ्रम छर्न खोज्नु उपयुक्त होइन । सम्मानित सर्वोच्च अदालतको परमादेश, एनआरएनएको विधानको मर्म र उच्चस्तरीय समितिद्वारा पारित कार्यविधिको आधारमा हामीले एकताको महाधिवेशन आयोजना गर्न गइरहेका छौँ ।

हाम्रा बैठकहरूमा नेपाल सरकारका प्रतिनिधिहरू पनि सहभागी भई रहेको छन् । त्यसैले वैधानिकताको बारेमा कुनै शंका छैन । गैर आवासीय नेपाली नागरिकता, लगानी प्रवद्र्धनजस्ता मुद्दाहरूमा नेपाल सरकारसँग दह्रो वार्ता गर्न पनि हामी फुटेर हैन जुटेर अगाडी बढ्नु पर्ने अवस्था छ,’ डा घलेले वक्तव्यमा भनेका छन् ।

उनले एनआरएनएका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू र उच्चस्तरीय समितिका सबै १३ जना एक ठाउँमा बसेर छलफल गरी निकास निकाल्न पनि आग्रह गरेका छन् ।

‘यो अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने र नयाँ उपलब्धि हासिल गर्नका लागि लाग्नु पर्ने बेला हो । विगतमा कसले के गर्यो त्यो कुरा अहिले छाडौँ । अहिलेको सन्दर्भमा सर्वोच्च अदालतको परमादेश अनुसार उच्चस्तरीय समितिले तोकेको मितिमा नै महाधिवेशन आयोजना गर्नु एकताको सूत्र हो । म एक पक्षको मात्रै जितको कामना गर्ने व्यक्ति होइन ।

हिजो पनि संघको अध्यक्ष हुँदा सबैलाई समेटेर, सहकार्य गरेर हिँडेको हुँ । त्यसैले एकै थलोमा भेला भएर, खुल्ला छलफल गरेर अहिलेको समस्यालाई निकास दिन र संस्थालाई एकजुट र बलियो बनाउन आआफ्नो क्षेत्रबाट सक्दो पहल गर्न पनि म सबै मित्रहरूलाई अपिल गर्दछु,’ उनले वक्तव्यमा भनेका छन् ।

प्रकाशित मिति: १२ वैशाख २०८२, शुक्रबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।