राजनितिक अस्थिरता, आर्थिक गतिविधिमा आउन नसकेको वृद्धि, विभिन्न किसिमका नियुक्ती लगायतमा देखिएको असहजताले सेयर बजारका लगानीकर्ता पनि अन्यौलमा परेका छन् । लामो समयदेखि सेयर बजारका लगानीकर्ता अन्यौलताका कारण बजारमा सक्रिय हुन सकिरहेका छैनन् ।
लगानीकर्ता अन्यौलमा परेसँगै धितोपत्रको दोस्रो बजार पनि अलमलमा परेको छ । जसका कारण झिनो अंकले बढे पनि बजार तत्कालै फराकिलो अन्तरले घट्ने गरेको छ । सोमबार पनि बजार परिसुचक नेप्से १४.५३ अंकले घटेको छ ।
बजार खुलेको १ घण्टासम्म उकालो चढेको भए पनि त्यस पछि क्रमिक रुपमा ओरालो लागेको थियो । बन्द हुँदा बजार परिसुचक नेप्से २६४७.०७ अंकमा अडिएको हो । बजारमा गिरावट आएका पनि कारोबार रकममा देखिएको स्थिरताले बजारलाई टेवा दिइरहेको छ ।
गत बिहीबार र आइतबार भिनो अंकले सुधार आएको बजार सोमबार दोहोरो अंकले घटेको हो । सोमबार कुल ३२७ कम्पनीका २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयरहरु ७६ हजार ९९८ पटक किनबेच हुँदा ८ अर्ब ९१ करोड २८ लाख ४३ हजार ९१९ रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा डेढ अर्बभन्दा कम हो ।
सोमबार वित्त र व्यापार समुह बाहेकका सबै समुहमा गिरावट आएको छ । वित्त समुह ३४ अंकले बढेको बजारमा व्यापार समुहमा १९.२४ अंकको सुधार देखिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा मध्य भोटेकोशी जलविद्युत आयोजना, ग्रीन डेभलपमेण्ट बैंक, मानुषी लघुवित्त, रिडी पावर कम्पनी लगायतको सेयर मूल्य बढेको छ ।
सप्तकोशी डेभलपमेण्ट बैंकको सेयर मूल्य ९ प्रतिशतले घटेको बजारमा युनिभर्सल पावर कम्पनी, त्रिशुली जलविद्युत लगायतको सेयर मूल्य धेरै घटेका छन् । कारोबार रकम, कारोबार संख्या र कारोबार भएको सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।
बजार ओरालो लाग्दै गर्दा क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.५९ अंक अर्थात ०.७९ प्रतिशतले घटेर ४४५.४८ अंकमा झरेको छ । त्यसैगरी कारोबारयोग्य सेयरहरुको मापक फ्लोट इन्डेक्स पनि १.०१ अंक अर्थात ०.५६ प्रतिशतले घटेर १७८.१८ अंकमा ओर्लिएको छ भने क वर्गका कम्पनीहरुको मात्र कारोबारयोग्य सेयरको मापक सेन्सेटिभ फ्लोट इन्डेक्स पनि १.१७ अंक अर्थात ०.७७ प्रतिशतले घटेर १४९.७८ अंकमा ओर्लिएको छ ।
बजारमा आएको गिरावटसँगै समग्र बजार पुँजीकरणमा पनि गिरावट आएको छ । आइतबार ४४ खर्ब २५ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ रहेको बजार पुँजीकरण सोमबार घटेर ४४ खर्ब १ अर्ब ४८ करोड ८२ लाख रुपैयाँमा झरेको छ । सोमबारको बजार गिरावटका कारण लगानीकर्ताको सम्पत्ती २४ अर्ब १७ करोड १५ लाख रुपैयाँले घटेको हो ।
प्रतिक्रिया