एनआरएनए एकता महाधिवेशनको तयारी पूरा


काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

शनिबारदेखि काठमाडौँमा सुरु हुन लागेको महाधिवेशनका लागि विभिन्न देशबाट सयौँको संख्यामा प्रतिनिधिहरू आइसकेको र अरू बाटोमै रहेको पनि समितिले जनाएको छ । महाधिवेशन हुन नदिन गरिएका अवरोधका बाबजुद ठूलो संख्यामा प्रतिनिधिहरूको स्वतःस्फूर्त सहभागिताले उच्चस्तरीय समितिको मनोबल बढाएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

समितिले शुक्रबार दिउँसो २ बजेभित्र सबै डेलिगेटसलाई समितिको बालुवाटारस्थित सचिवालयमा दर्ता शुल्क बुझाएर एकताको महाधिवेशनमा सहभागी हुन अनुरोध गरेको छ ।

‘एनआरएनए उच्चस्तरीय समिति कानुनको सर्वोच्चता, विधिको शासन (रुल अफ ल) र सामूहिक बुद्धिमत्तामा विश्वास गर्दछ । विगतका विवादहरूलाई अन्त्य गरी संस्थालाई नयाँ र एकताबद्ध ढंगले अगाडी बढाउन सम्मानित सर्वोच्च अदालतको परमादेश, संघको विधानको मर्म र समितिद्वारा पारित कार्यविधिका आधारमा पारदर्शी किसिमले गएको झन्डै ६ महिना देखि हामीले गरिरहेको प्रयास खेर नजाओस् भन्ने तर्फ हामी सचेत छौँ,’ समितिकी सदस्य सचिव जानकी गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

समितिको सचिवालयमा बैंकका कर्मचारीद्वारा डेलिगेट शुल्क बुझ्ने र निर्वाचन समितिको गैरीधारास्थित कार्यालयमा प्रमाणीकरण गर्ने काम भई रहेको जानकारी गराउँदै समितिले जतिसक्दो छिटो सचिवालयमा गएर आवश्यक कागजात सहित दर्ता शुल्क बुझाउन सम्पूर्ण डेलिगेट्सहरुलाई अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति: १९ वैशाख २०८२, शुक्रबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।