आगामी बजेटलाई लक्षित गरी व्यवस्थापन संघद्धारा छलफल कार्यक्रम सम्पन्न


काठमाडौँ । आगामी बजेटलाई लक्षित गरी व्यवस्थापन संघद्धारा होटल याक एण्ड यतीमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटका लागी सुझाव प्रदान गर्ने उद्देश्यले छलफल आयोजना कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख अतिथि माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल थिए । कार्यक्रममा मन्त्री पौडेलले नेपाल व्यवस्थापन संघका अतिरिक्त निजि क्षेत्रका छाता संस्थाका नेतृत्वकर्ताहरु र वस्तुगत संघसंस्थाका प्रतिनिधिहरुले सारभूत सुझावहरु प्रस्तुत गरेका छन् ।

वस्तुगत तथा पेशागत संघसंस्था तथा विज्ञहरुको सुझाव ग्रहण गर्दै उनले आगामी बजेटले स्रोत र खर्च व्यवस्थापनमा सुधार गरी उत्पादनमूलक क्षेत्र एवं निर्यात प्रवर्धनलाई प्राथमिकता दिने बताए । उनले राज्य स्रोतबाट मात्र नभएर स्वदेशी तथा विदेशी लगानी प्रवर्धन तथा विकास वित्त, परिचालनका लागि प्रवर्धन गर्न वैकल्पिक विकास वित्त सम्बन्धी विधेयक संसदमा दर्ता गरेको जानकारी दिए ।

उनले सूचना प्रविधिलाई परिचालन गरी अर्थतन्त्रका सबै क्षेत्रलाई थप विस्तार गर्न सरकार प्रयत्नशील रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उकास्न र निजी क्षेत्रलाई प्रोत्साहन गर्न सरकार सदैव तयार रहेको बताए ।

कार्यक्रममा नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले हरेक वर्षजस्तै संघले विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई एकै मञ्चमा भेला गरी वस्तुनिष्ठ सुझाव प्रदान गर्न पूर्वबजेट छलफल आयोजना गरिएको बताउँदै अर्थतन्त्रमा जारी सुस्तता अन्त्य गर्न सरकारले प्राथमिकता निर्धारण गरी परिणाममूलक उपलब्धी हासिल गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बजेटले सामाजिक न्याय सहितको खुला अर्थतन्त्र, नयाँ चरणको आर्थिक सुधार, निजी क्षेत्र प्रवद्र्धन तथा सुशासन र सार्वजनिक खर्चको प्रभावकारितालाई प्राथमिकता दिन सुझाव दिए ।

साथै, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र पुरुस्त्थानको चरणमा देखिएकाले त्यसले आशाको सञ्चार गरेको बताउदै आन्तरिक उत्पादन प्रवद्र्धन गर्न कर नीतिमा पारदर्शिता र आयकरको थ्रेसहोल्ड बढाउनु आवश्यक रहेको बताए ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।