उद्योगी रामकुमार राठीलाई सरकारले गर्यो सम्मान


काठमाडौँ । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी रामकुमार राठीलाई सरकारले लाइफटाइम आचिव्मेंट आवर्ड प्रदान गरेको छ ।

उद्योगी राठीलाइ २९ औँ राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी विकाश बोर्डले अवार्ड प्रदान गरेको हो ।

कृषि तथा पशुपंक्षी विकासमन्त्री एवं बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् ।

राठी नेपालका पहिलो टि टेस्टर (चिया परिक्षक) हुन् । उनले टेस्टिंग प्लान्टेशन एण्ड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । २५ बर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिंग हेरे पछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्के लगत्तै राठी ईलाम टि गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रुपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चिया बारे आधारभूत ज्ञान लिएका थिए ।

सन् १९६८ देखि १९७० सम्म डी.सी धोष एण्ड कम्पनी प्रा.लि. कोलकत्ताको १ व्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिममा लिएर उनी नेपाल फर्किए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थालेका थिए ।

वि.सं. २०३३ सालमा हिमाल चिया उद्योग प्रा.लि. को स्थापना गरेका थिए । हाल राठीका ३ वटा चिया उद्योग छन् ।

उनले वि.सं. २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योग र २०७२ मा ईलामको शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रा.लि. उद्योगको स्थापना गरे ।

हाल उनले ‘राकुरा’ ब्रान्डमा सि.टि.सी. र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।

प्रकाशित मिति: २२ वैशाख २०८२, सोमबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।