वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन दिएका छन् । यो कुख्यात सङ्घीय कारागार क्यालिफोर्नियाको एउटा सानो टापुमा अवस्थित छ र छ दशकअघि बन्द भएको थियो ।
“पुनर्निर्माण गर्नुहोस् र अल्काट्राज खोल्नुहोस् १”, रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “आज म कारागार ब्युरो, न्याय मन्त्रालय, एफबिआई र होमल्यान्ड सेक्युरिटीसँग मिलेर अमेरिकाका सबैभन्दा निर्दयी र हिंसात्मक अपराधीहरूलाई राख्न अल्काट्राज पर्याप्त रूपमा विस्तारित र पुनर्निर्माण गरी फेरि खोल्न निर्देशन दिँदैछु ।”
अमेरिकी कारागार ब्युरोका अनुसार अल्काट्राज मात्र २९ वर्ष खुला रहेपछि सञ्चालन खर्च उच्च भएका कारण सन् १९६३ मा बन्द भएको थियो र अहिले यसले पर्यटकीय आकर्षणका रूपमा सेवा गर्दछ ।
सान फ्रान्सिस्को तटबाट दुई किलोमिटर दूरीमा अवस्थित र मात्र तीन सय ३६ कैदीको क्षमता भएको यो कारागारमा निषेध युगका माफिया नेता अल कापोन जस्ता केही प्रख्यात अपराधीहरू राखिएका थिए ।
ट्रम्पले विशेष गरी आप्रवासीहरूद्वारा गरिएका अपराधमाथि कडा कारबाही गर्नलाई ह्वाइट हाउसमा उनको दोस्रो कार्यकालको एक प्रमुख तत्व बनाएका छन् ।
“जब हामी अझ गम्भीर राष्ट्र थियौँ, विगतमा हामीले सबैभन्दा खतरनाक अपराधीहरूलाई बन्द गर्न र उनीहरूलाई हानी गर्न सक्ने कसैबाट टाढा राख्न हिचकिचाउँदैनौँ । यो यस्तै हुनुपर्छ”, ट्रम्पले आइतबार लेखेका छन्, “अब हामी यी सिरियल अपराधीहरूलाई सहन सक्दैनौँ जसले हाम्रो सडकमा फोहोर, रक्तपात र अराजकता फैलाउँछन् ।”
प्रतिक्रिया