पहलगाम हमलाको ‘झिल्को’ले भयानक युद्ध सन्त्रास !

पाकिस्तानविरुद्ध भारतले छेड्यो युद्ध, जबाफी कारबाही गर्ने पाकिस्तानको चेतावनी


काठमाडौँ । भारत प्रशासित जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच चुलिएको विवाद अन्तत : आपसी युद्धमा परिणत भएको छ ।

पहलगाम हमलाको १६ दिनपछि भारतले पाकिस्तानका ९ वटा सैन्य अड्डामा हवाई हमला गरेको छ । मंगलबार मध्यराति ‘अपरेसन सिन्दूर’ का नाममा भारतीय सेनाले बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा आक्रमण गरेको हो ।

पाकिस्तानको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्सका निर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । उनले आक्रमणमा २ बालबालिकासहित ८ पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।

आक्रमणबाट कम्तीमा सय जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमको दाबी छ । यद्यपि, एकिन तथ्य भने आउन सकेको छैन ।

  • ३ भारतीय नागरिकको मृत्यु

समाचार एजेन्सीहरू रोयटर्स र एएफपीले भारतीय सेनालाई उद्धृत गर्दै पाकिस्तानी सेनाको जबाफी कारबाहीमा कश्मीर क्षेत्रमा ३ भारतीय नागरिकको मृत्यु भएको जानकारी दिएका छन् । भारतको हमलापछि पाकिस्तानले जबाफी कारबाही गर्दै ५ भारतीय लडाकू विमान खसालेको पनि दाबी गरेको छ ।

  • दुवै देशका विद्यालय बन्द

२ देशबीच चुलिँदो युद्धका कारण दुवै देशका विभिन्न क्षेत्रमा विद्यालय बन्द गरिएको छ । आक्रमणपछि पाकिस्तानले राजधानी इस्लामावाद र पन्जाब प्रान्तमा विद्यालय बन्द गरेको हो ।

यस्तै, दुवै देश अधीनस्थ कश्मीरका कतिपय स्थानमा पनि विद्यालय र क्याम्पस बन्द भएका छन् । कश्मीरमा जम्मू, साम्बा, कठुवा, राजौरी र पुंछ क्षेत्रमा शैक्षिक गतिविधि ठप्प भएको छ ।

  • सर्वसाधारणमाथि निशाना बनाइयो, जबाफ दिन्छौँ : पाकिस्तान

पाकिस्तानले भारतको आक्रमण र यसले अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा पारेको जोखिमबारेमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई जानकारी गराएको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानले संयुक्त राष्ट्रसंघको चार्टरको धारा ५१ अन्तर्गतको आत्मरक्षाको अधिकारअनुसार उपयुक्त समय र स्थानमा यस भारतीय आक्रामकताको जवाफ दिने अधिकार सुरक्षित राख्दछ भन्ने विषयको जानकारी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई दिइएको छ ।’

घटनापछि पाकिस्तानका प्रधानमन्त्रीले तत्काल राष्ट्रिय सुरक्षा समितिको आकस्मिक बैठक डाकेका छन् । बैठकमा सम्भावित कूटनीतिक, सैन्य र मानविक प्रतिक्रियाहरूबारे निर्णय हुने बताइएको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतमाथि सर्वसाधारण नागरिक र धार्मिक स्थलहरूलाई निशाना बनाएको आरोप लगाएका छन् ।

मन्त्री आसिफले भारतको हवाई आक्रमण आतंकवादी लुक्ने स्थानहरूविरुद्ध लक्षित भएको दाबी झुटो प्रचार भएको बताएका छन् । उनले भने, ‘ आक्रमण भएका स्थान नागरिक क्षेत्र हुन् । दुइटा मस्जिद ध्वस्त भएका छन् । सर्वसाधारण महिला र बालबालिका मारिएका छन् ।

  • सैन्य भिडन्त संसारका लागि असह्य : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रले भारतले पाकिस्तानमाथि गरेको हमलाप्रति चिन्ता व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले ‘गुटेरेस नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्तित रहेको’ बताएका छन् ।

उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् । उनले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुने बताएका छन् ।

  • अमेरिकाले भन्यो : दु :खद्

यसैबीच, भारतले पाकिस्तानमाथि गरेको आक्रमणलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दु :खद् भन्दै दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन् । ‘यो हुन सक्ने अनुमान पहिले नै थियो । उनीहरू धेरै समयदेखि लडिरहेका छन् । म आशा गर्छु, यो तनाव चाँडै सकिन्छ’, उनले भनेका छन् ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।