शिक्षा र उद्योगलाई जोड्ने उद्देश्यसहित नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारी


काठमाडौं । शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षीय हितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा नेपाल विश्वविद्यालयको तर्फबाट रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताउदै उनले सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वास समेत व्यक्त गरेका हुन् ।

नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इनर्टनसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने भन्दै सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको र यो नै अहिलेको आवश्यकता पनि रहेको जनाएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्कीले सीपयुक्त, उद्यमशीलता, नविनतासँगै विद्यार्थीमाअसल भावना विकास गराउने गरी कार्यक्रम ल्याइने बताए । उनले विश्वविद्यालय नयाँ अवधारणअनुसार अगाडि बढेकाले यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग अनुभव, पाठ्यक्रम विकास, नविनता,अनुसन्धानलगायतका क्षेत्रमा विश्वविद्यालयसँग सहकार्य गरिने बताए ।

सो अवसरमा नेपाल विश्वविद्यालयका बोर्ड सदस्यहरु डा. जगदीशचन्द्र पोखरेल, डा. विमला राई पौडेल,डा. लालकृष्ण केसीलगायत सहभागीता थियो ।

प्रकाशित मिति: २४ वैशाख २०८२, बुधबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।