नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ


काठमाडौँ । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ ।

रबरका ठूला ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै बग्ने रिभर ट्यूबिङ यात्राले सहभागीलाई रोमाञ्चक अनुभूति दिलाउनेछ । गर्मीयामको चिसो पानीमा रमाउन चाहने पर्यटकका लागि यो सेवा उत्कृष्ट विकल्प बन्ने विश्वास गरिएको छ ।

शुरुवाती दिनमै ४८ जनाले सेवा उपयोग गरिसकेको जनाइएको छ । रिभर ट्यूबिङ नेपालका संस्थापक यमन माझीका अनुसार, ‘नेपालमा ट्रेकिङ र पहाडी गन्तव्यको विकल्प प्रशस्तै छन्, तर नदीमा रमाउने साहसिक सेवा सीमित छन् । यस परियोजनामार्फत हामीले नयाँ दिशा दिन खोजेका हौँ ।’

‘माझी किङ’ भनेर चिनिने यमन माझीको यो प्रयासले नेपाली पर्यटन क्षेत्रलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ । प्याकेजमा सहभागी पर्यटकका लागि खानपान, यातायात, स्थानीय परिकार, सुरक्षा उपकरण, मेडिकल किट तथा प्रशिक्षित प्लेफूल राइड अर्गनाइजर सहितको व्यवस्था गरिएको छ ।

रिभर ट्यूबिङ सेवा उद्घाटनको अवसरमा पहिलो महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ । सेवाले आन्तरिक र बाह्य दुबै पर्यटक तान्ने र स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने विश्वास गरिएको छ । आगामी दिनमा देशका अन्य नदीहरूमा समेत यस्तो सेवा विस्तार गर्ने योजना रहेको संस्थापक माझीले जानकारी दिए ।

प्रकाशित मिति: २५ वैशाख २०८२, बिहीबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।