ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी


काठमाडौँ । पुस्तौँदेखि आमा–छोरीको सम्बन्धमा आकार दिने मिलन र बिछोडका अनेकन् आयामहरूलाई समेटेर कला प्रबन्धक आर्ट क्युरेटर बुनु ढुङ्गानाले तयार गरेकी ‘पेटका केही कुरा’ (सम थिङ्स इन द बेल्ली) मल्टिमिडिया प्रदर्शनी काठमाडौँमा भइरहेको छ ।

प्रदर्शनी काठमाडौँ बबरमहलमा रहेको आर्ट काउन्सिलमा बैशाख २० गतेदेखि सुरु भएको प्रदर्शनी जेठ २ गतेसम्म आयोजना हुनेछ । हरेक दिन बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म प्रदर्शनी आयोजना भइरहेको छ ।

प्रदर्शनीले पिँढी, संस्कृति र अनुभवहरूको बीच एकअर्कालाई बुझ्ने क्षमता र विफलताको अन्वेषण गर्छ ।

प्रदर्शनीमा नेपालका अस्मिता बादी, श्रद्धा देवकोटा, इरिना गिरी, उज्ज्वला महर्जन, तृप्ती तामाङ पाख्रिन, सृष्टि श्रेष्ठ, प्रतिभा तुलाधर र बेलायतकी रचेल लोवका सिर्जना राखिएका छन् ।

‘यहाँ सामेल कलाकारले आमालाई बुझ्न र बुझिन आवश्यक भाषा भेट्टाउने प्रयत्नमा हामीले पाएका सफलता, विफलता तथा एकातिर आमा र आफूबीचको गाँठो अझै बेस्सरी कस्ने आशालाई बुझ्ने अवसर दिएका छन्’ विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय मदर्स डेको छेकोमा आयोजित यो कला प्रदर्शनी आमाहरूलाई समर्पित गरिएको छ । ‘आर्ट एक्सचेन्ज: मुभिङ इमेज साउथ एसिया’ कार्यक्रमको एक भागको रूपमा आयोजना गरिएको यो प्रदर्शनी ब्रिटिश काउन्सिलद्वारा समर्थित, लक्स र आर्ट साउथ एसिया प्रोजेक्टद्वारा आयोजित छ ।

प्रकाशित मिति: ३१ वैशाख २०८२, बुधबार  १२ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।