काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजक रहेको गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।
२५ चैतदेखि नेतृत्वविहीन रहेको राष्ट्रबैंकमा नयाँ गभर्नर चयन गर्न सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा १६ चैतमा गभर्नर सिफारिस समिति बनाएको थियो ।
गभर्नर नियुक्ति प्रक्रिया पेचिलो बन्दै जाँदा सरकारले गभर्नर सिफारिस समिति नै तीन पटक पुनर्गठन गरिसकेको छ ।
यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए । ती दुई सदस्यको स्थानमा डा. पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए । यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो ।
यसअघि समितिमा सदस्य रहेका डा. विश्व पौडेल आफैँ गभर्नर बन्ने सम्भावना भएपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
यता, अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ विपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।
पौडेलभन्दा अगाडि डा. विजयनाथ भट्टराईले पनि सिफारिस समिति सदस्यबाट राजीनामा दिएका थिए ।
डा. पाण्डे दीर्घ अनुभवसहितका अर्थविद् मानिन्छन् । पूर्वमूल्याङ्कन विभाग, राष्ट्रिय योजना आयोगलगायत निकायमा आबद्ध हुँदै आएका पाण्डेले वित्तीय नीति, मौद्रिक नीतिको अवलोकन तथा सुधारमा समेत योगदान दिएका छन् ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि सरकारले समितिको गठन गरेको हो । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले नयाँ गभर्नर सिफारिस प्रक्रिया अघि बढाएको थियो।
प्रतिक्रिया