काठमाडौँ । सान्भी इनर्जी लिमिटेडले यही जेठ ९ गतेदेखि आइपिओ जारी गर्दै छ । आइपिओ भर्नुअघि कम्पनीको वित्तीय अवस्थाको बारेमा चासो हुनु स्वाभाविक हो । कस्तो छ त कम्पनीको वित्तीय अवस्था ?
गत पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सान्भी इनर्जीले १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिसम्म कम्पनीले ११ करोड ९ लाख रुपैयाँ मुनाफा गरेको छ ।
कम्पनीको २०८०/८१ को वास्तविक खुद आय ८ करोड ५३ लाख रुपैयाँ छ । कम्पनीको वित्तीय लागत ४ करोड ८० लाख रुपैयाँ माइनसमा रहेको छ । पुस मसान्तसम्म कम्पनीले विद्युत् बिक्रीमार्फत् १० करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८१ पैसा छ भने १२ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ ।
कम्पनीले इलामको जोगमाई खोला साना जलविद्युत् आयोजना ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत् आयोजना ५.२ मेगावाट जडित क्षमताका दुवै आयोजनाहरू निर्माण गरिरहेको छ ।
कम्पनीले प्रवद्र्धन गरिरहेको ७.६ मेगावाटको जोगमाई खोला साना जलविद्युत् आयोजनाको कुल लागत १ अर्ब ५७ करोड २९ लाख ५२ हजार ५४४ रुपैयाँ छ भने प्रतिमेगावाट लागत २० करोड ६९ लाख ६७ हजार ४४० रुपैयाँ छ ।
सो आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि २३ वर्ष १ महिना बाँकी छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.५३ वर्ष छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.२९ वर्ष छ ।
त्यसैगरी, निर्माणाधीन ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत् आयोजनाको अनुमानित कुल लागत १ अर्ब ९१ लाख १३ हजार ५४४ रुपैयाँ छ भने अनुमानित प्रतिमेगावाट लागत १९ करोड ४० लाख ६० हजार १९२ रुपैयाँ छ ।
सो आयोजनाको विद्युत् अनुमतिपत्रको अवधि ३० वर्ष ११ महिना बाँकी छ । यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.७३ वर्ष छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष छ ।
कम्पनीले आइपिओ निष्कासनबाट प्राप्त रकमले स्वपुँजीबापत अपुग भएको १४ करोड ५९ लाख ४२ हजार रुपैयाँ जोगमाई क्यासकेड जलविद्युत् आयोजना ५ं.२ मेगावाट निर्माणका लागि उपयोग गर्नेछ ।
यस्तै, कम्पनीले जोगमाई खोला साना जलविद्युत् आयोजना ७.६ मेगावाटका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तानका लागि १५ करोड रुपैयाँ र कम्पनीको विभिन्न व्यावसायिक कामका लागि ८ करोड ३९ लाख रुपैयाँ प्रयोग गर्नेछ ।
आइपिओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
जेठ ९ गतेदेखि आवेदन दिन सकिने
सान्भी इनर्जीको आइपिओमा जेठ ९ गतेदेखि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो ।
स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँटपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको आइपिओमा जेठ १३ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया