आइडियल यमुना सहकारीमा ८ अर्ब हिनामिना, बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना


काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ८ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले उक्त सहकारीले ८ अर्ब रुपैयाँ हिनामिना गरेको बताउँदै बचतकर्ता सदस्य र साहुहरूलाई लिनुपर्ने रकम मागदाबी गर्न भनेको हो ।

यमुना आइडियलमा ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत छ । समितिले ३० हजारभन्दा बढी बचतकर्तालाई ३५ दिनभित्र अनलाइनमार्फत् मागदाबी गर्न भनेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइडियल यमुना सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीका लागि समितिलाई लेखी पठाए बमोजिम समितिको कार्यालयले ऋण असूलीका साथै दायित्व भुक्तानीको प्रक्रिया अघि बढाइएको हो ।

सहकारी समस्याग्रस्त घोषणा भएपछि बचतकर्ताको अर्बौं रुपैयाँ जोखिममा छ । आइडियल युमना आधादर्जन सहकारी संस्थाहरू गाभिएर बनेको हो ।

२०८० असारमा हाम्रो सगरमाथामा आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, घेदुङ बहुउद्देश्यीय सहकारी संस्था र नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था मर्ज गरेर आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका नाममा कारोबार गर्न सहकारी विभागबाट स्वीकृति लिएका थिए ।

प्रकाशित मिति: ४ जेठ २०८२, आइतबार  ०७ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।