चैतमा काँकडभिट्टा हुँदै भित्रियो डेढ करोडको खरबुजा


काठमाडौ । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा ४ करोड ६१ लाख ३४ हजार रुपैयाँको खरबुजा भारतबाट आयात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको हो । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ । स्थानीयले व्यावसायिक रूपमा खरबुजाखेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा भारतबाट आयात भएको छ । भन्सारले जनाएअनुसार चालु आवको पहिलो महिना साउनमा ६० लाख ५० हजार रुपैयाँ मूल्य बराबरको २ लाख ३० हजार ८५० केजी, भदौमा ४८ लाख ९८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ८६ हजार १४० केजी, असोजमा ३७ लाख २९ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ४१ हजार ४५० केजी, कात्तिकमा २१ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको ८१ हजार २४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार रुपैयाँ मूल्य बराबरको ५५ हजार ७८० केजी र पुसमा १२ लाख ४२ हजार रुपैयाँ मूल्य बराबरको ४७ हजार २६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ ।

त्यसैगरी, माघमा २२ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको ८५ हजार ७१० केजी, फागुनमा ४४ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको १ लाख ७३ हजार ७८९ केजी, चैतमा १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी र वैशाखमा ६५ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको २लाख ५२ हजार ६५० केजी खरबुजा आयात भएको पाइएको छ ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजाखेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसकेर बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए । खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजाखेती गर्दै आएका छन् । गत वर्ष उक्त फार्ममा ३५० मेट्रिक टन खरबुजा उत्पादन भएको थियो ।

प्रकाशित मिति: ९ जेठ २०८२, शुक्रबार  ०७ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।