टिकेन गभर्नर नियुक्तिले देखाएको सेयर बजारको वृद्धि


काठमाडौँ । गभर्नर नियुक्ति हुनेदिनसम्म उकालो लागेको सेयर बजारको वृद्धि टिक्न नसकेको आइतबारको कारोबारले देखाएको छ । कम्पनीहरुको वित्तीय अवस्था, समग्र अर्थतन्त्रको अवस्था लगायत कारणले पनि बजार उकालो लाग्न सकिरहेको छैन ।

आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार सेयर बजार परिसुचक नेप्से ८.५७ अंकले घटेको छ । बजार खुलेको केहीबेर बढेर २७०३.७९ बिन्दुमा पुगे पनि त्यस पछि क्रमिक रुपमा ओरालो लाग्दा अन्तिम समयमा २६७९.९८ बिन्दुमा घटेर बन्द भएको हो ।

क्षणिक खबरहरुले धेरै उतारचढाव ल्याउने गरेको बजारमा गभर्नर नियुक्त हुने अल्लिो दिन सोमबार र मंगलबार सुधार आएको थियो । गभर्नर नियुक्त भएको भोलिपल्ट अर्थात बुधबार घटेको बजार बिहीबार भने सामान्य अंकले बढेको थियो । साताको अन्तिम कारोबार दिनमा बिहिबार नेप्से १९.०४ अंकले बढेको थियो । यस्तै बुधबार सेयर बजारमा ७.९४ अंकको गिरावट आएको थियो । गभर्नर नियुक्त भएको दिन मंगलबार ४९.०९ अंकले बढेको नेप्से गभर्नर नियुक्तिको चर्चा चलेको दिन सोमबार १९.०३ अंकले बढेको थियो ।

आइतबार लघुवित्त समूहमा ११२.९९ अंकले बढेको बजारमा अन्य समूह ५.५९ अंकले बढेको छ भने बाँकी सबै उपसमुहहरु घटेका छन् ।

आइतबार कारोबारमा आएका ३१४ वटा कम्पनीको १ करोड ८५ लाख ५ हजार कित्ता सेयर ७० हजार ६१० पटक किनबेच हुँदा ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

भर्खरै सूचीकरण भएको ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा महुली लघुवित्तको ८.२५ प्रतिशत, रिभर फल्स पावरको ७ं.७४ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ७.२४ प्रतिशत र सुर्याेदय वोमी लघुवित्तको सेयर मूल्य ६.६० प्रतिशतले बढेको छ ।

यता, सिन्धु विकास बैंकको सेयर मूल्य ८.८२ प्रतिशतले घटेको बजारमा बाराही हाइड्रापावरको ६.७६ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.०७ प्रतिशत, ग्रीन डेभलपमेन्ट बैंकको ३.९२ प्रतिशत र दार्दी खोला जलविद्युतको सेयर मूल्य ३.३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी ७१ करोड ४९ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानामा हुँदा कारोबारमा आएको सेयर तथा इकाइ संख्याको आधारमा प्रभु स्यालेक्टेड फन्ड १४ लाख ९० हजार ६४९ इकाईको कारोबार सहित अग्रस्थानमा छ । कारोबार संख्याका आधारमा राधी विद्युत २ हजार ४२० पटकको किनबेच सहित अग्रस्थानमा छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुने दिन नजिकिँदै गर्दा त्यसको असर पनि बजारमा परेको छ । अहिलेको असहज वित्तीय बजार र अवस्थालाई बजेटले के कसरी सम्बोधन गर्छ भन्नेमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नेछन् ।

प्रकाशित मिति: ११ जेठ २०८२, आइतबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।