कामना सेवा विकास बैंक एनपीएस– एनसीएस तथा नेपाल पे कार्डमा आवद्ध


काठमाडौं ।  कामना सेवा विकास बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत बिकाश ढुंगाना  तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

एनसीएचएलले हालै एनपीएस– एनसीएस को पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस– एनसीएस र नेपाल पे काडमा आवद्ध भइरहेका छन् ।

नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात कामना सेवा विकास बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।

एनपीएस– एनसीएस लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ ।

उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

एनपीएस– एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाईमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी विकास बैंकहरु मध्येको कामना सेवा विकास बैंकले देश भरी रहेका १३० वटा शाखा/विस्तारित शाखा तथा ७२ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति: १२ जेठ २०८२, सोमबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।